
धनगढी– नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सुदूरपश्चिम प्रदेशका १३ वटा स्थानमा रहेका एनसेल टावरमा आगजनी गरेको छ।
कैलाली, बझाङ, बैतडी, अछाम, डडेलधुरा र बाजुराका विभिन्न स्थानमा रहेका १३ वटा एनसेल टावरमा विप्लव समूहले आगजनी गरेर क्षति पुर्याएको संघीय प्रहरी इकाई धनगढीले जनाएको छ।
प्रहरीका अनुसार कैलालीका चार, बझाङका तीन, अछामका दुई, डडेलधुरामा एक र बाजुरामा एक गरी १३ वटा टावरमा आगजनी गरेको संघीय इकाई प्रहरी प्रमुख डिआइजी तारायणीदत्त लम्सालले जानकारी दिए।
प्रहरीका अनुसार कैलालीको धनगढी वडा नम्बर–६, जानकीनगर गाउँपालिका वडा नम्बर–२ र ४, गोदावरीको मालाखेतीमा रहेको एनसेल टावरमा विप्लवले आगजनी गरेको हो।
यसै गरी बझाङको चिर वित्थड गाउँपालिका स्थित धारीडाँडामा रहेको एनसेल टावरसँगै जिल्लाका थलारा गाउँपालिका र मष्टा गाउँपालिकामा रहेका टावरमा पनि विप्लव माओवादीले आगजनी गरेको संघीय प्रहरी इकाई धनगढीले जनाएको छ।
यसै गरी अछामको विनायकमा रहेका टावर, डडेलधुराको काफलिगाढमा रहेको टावर र डोटीको जोरायलमा रहेको टावरमा पनि आगजनी गरेको डिआइजी लम्सालले जानकारी दिएका छन्।
यी बाहेक बाजुरा, बैतडी र कञ्चनपुरमा पनि एनसेल टावरमा आगजनी भएपनि कुन स्थानको हो भन्ने एकिन भईनसकेको उनले बताए।
टावरमा आगजनीपछि केही स्थानमा टेलीफोन सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ।