
इजरायलको प्रहरीले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुमाथि भ्रष्टाचार आरोप लगाउँदै मुद्दा दायर गर्नु पर्ने बताएको छ ।
प्रधानमन्त्री नेतन्याहुले भ्रष्टाचार, धोका तथा देश र नागरिकको भरोसा तोडेका धेरै प्रमाण भेटिएकाले उनी विरुद्ध मुद्दा दायर गर्नु पर्ने प्रहरीले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ । प्रधानमन्त्री नेतन्याहुले भने आफूमाथि लगाइएको अरोप आधारहिन रहेको बताएका छन् ।
इजरायली टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा प्रधानमन्त्री नेतन्याहुले आफूले कुनै किसिमको भ्रष्टाचार वा पदको नाजायज फाइदा नलिएको बताउँदै प्रधानमन्त्रीका रुपमा कायम रहने बताएका छन् । आफूमाथि लागेका सबै आरोप झुठ रहेकाले त्यसै टुंगिने उनको भनाई छ ।
नेतन्याहुमाथि येदियत अहरोनोत नामक पत्रिकालाई प्रतिस्पर्धी पत्रिकालाई दबाब बनाउन सहयोग गरेको र त्यसका लागि आफ्नो विषयमा सकारात्मक खबर प्रकाशित गराएको आरोप छ । प्रहरीले येदियत अहरोनोतका सम्पादक आरनन मोजेसमाथि पनि मुद्दा चलाउनु पर्ने बताएको छ ।
यस्तै नेतन्याहुमाथि सन् २००९ मा हलिवुड निर्माता आर्नन मिलचनबाट एक लाख डलरको उपहार लिएको आरोप पनि छ । अमेरिकाको भिसा उपलब्ध गराउन सहयोग गरेबापत मिलचनले नेतन्याहुलाई महंगो रक्सीसहितको उपहार दिएको आरोप लागेको हो ।