
दुई वर्षअघि टिम समस्यामा रहेका बेला जिनेदिन जिदानले रियल मड्रिडको बागडोर सम्हाले । ला लिगामा समस्या पर्दै गएका बेला क्लबले राफायल बेनिटेजलाई हटाएर आफ्ना पूर्व खेलाडी जिदानलाई जिम्मेवारी दियो ।
जिदानले क्लबको बागडोर राम्रोसँग सम्हालेनन् मात्रै लिगामा राम्रै गराए । च्याम्पियन्स लिगको उपाधि दिलाए । दोस्रो सिजन अर्थात गएको सिजन उनले क्लबलाई ला लिगासँगै लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधिको बाटो देखाए ।
तर यो सिजन उनी समस्यामा छन् । क्लबलाई दुई वर्षअघि समस्याबाट बाहिर ल्याउने जिदानसँगै क्लब पनि समस्यामा छ । रियल मड्रिड अहिले ला लिगामा तेस्रो स्थानमा छ र त्यो भन्दा डरलाग्दो शीर्ष स्थानको बार्सिलोना भन्दा १६ अंकले पछि छ ।
कोपा डेल रेको क्वाटरफाइनलबाटै बाहिरीएको रियल मड्रिडको यो सिजन उपाधि आश अब च्याम्पियन्स लिग फुटबलमा मात्रै अडिएको छ ।
तर त्यसमा पनि अरुलाई तुलनात्मक रुपमा सहज प्रतिस्पर्धी पर्दा रियल मड्रिडले कडा प्रतिस्पर्धी पाएको छ, पेरिस सेन्ट–जर्मेन (पिएसजी) ।
त्यो पनि अन्तिम १६ मै । रियल मड्रिडले बुधबार राति च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा पिएसजीसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ ।
संकेत सकारात्मक तर डर उस्तै
ला लिगामा लगातार राम्रो प्रदर्शन गर्न नसकेको रियल मड्रिडले च्याम्पियन्स लिगमा पिएसजीसँग भेट अघिको घरेलु प्रतिस्पर्धामा भने उत्कृष्ट प्रदर्शन गरेर सकारात्म संकेत गरेको छ ।
ला लिगामा राम्रो प्रदर्शन गर्न संघर्षरत स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले पनि यो खेलमा उत्कृष्ट प्रदर्शन गरे र आफू लयमा फर्किएको संकेत दिएका छन् ।
रोनाल्डोको ह्याट्रिकमा रियल सोसिडाडलाई रियल मड्रिडले चार दिनअघि भएको खेलमा ५–२ ले हरायो । तर यो जितले रियलको उत्साह बढाए पनि चुनौती भने बढी छ पिएसजीसँगको खेलमा ।
यो चुनौती जितको हो भने यस्तै चुनौती छ प्रशिक्षक जिदान र स्ट्राइकर रोनाल्डोसहितका खेलाडीमा । पिएसजीसँगको खेल रियलका लागि सिजनको उपाधि आश जोगाउने र जिदानलाई जागिर जोगाउने एक मात्र माध्यम हो ।
रोनाल्डोको लय
सधैँ जस्तै यो सिजन पनि च्याम्पियन्स लिगमा रोनाल्डोको लयमा कुनै शंका छैन । उनले यो सिजन घरेलु लिगमा भने अघिल्ला सिजन जस्तो लय समात्न सकेका थिएनन् । तर उनले चार दिनअघि भएको खेलमा ह्याट्रिक मात्रै गरेनन्, आफूले लय नगुमाएको संकेत गरे ।
उनी यो सिजन समूह चरणका सबै खेलमा गोल गर्ने पहिलो खेलाडी बने । उनले समूह चरणका ६ खेलमा ९ गोल गरेका छन् । तर यो सिजन नयाँ वर्षअघि रोनाल्डोले ला लिगामा चार गोल मात्रै गरेको थिए ।
तर सन् २०१८ लागेपछि भने उनले राम्रो गर्दै आएका छन् । उनले ला लिगाका पछिल्ला चार खेलमा सात गोल गरेका छन् ।
उनी स्पेनिस ला लिगामा ३३ ह्याट्रिक गर्ने खेलाडी हुन् । उनी अहिले तुलनात्क रुपमा आत्मविश्वासी र सम्हालिएका देखिन्छन् ।
पिएसजी र नेइमारको लयले चिन्ता
रियल मड्रिडलाई खेलमा जित निकाल्नु त छ तर त्यसका लागि फ्रेन्च लिग वानसहितका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको पिएसजीको चुनौती त्यति सजिलो भने छैन ।
त्यसमाथि यहि सिजन बार्सिलोनाबाट पिएसजी गएका नेइमारको लय अर्को चुनौती बनेको छ । लिगको शीर्ष स्थानमा रहेको पिएसजीमा नेइमारसँगै एडिसन काभानी लयमा छन् ।
उसले लिगमा पछिल्लो पटक भएको खेलमा टुलुजलाई नेइमारको गोलमा १–० ले हराएको छ । सबै प्रतियोगितामा गरेर पछिल्ला ६ खेलको कुरा गर्ने हो भने पिएसजीले सबै जितेको छ ।
तर रियल मड्रिडले चार खेल जितेको छ भने एक खेलमा हार र एक खेलमा बराबरी गरेको छ ।
हेड–टु–हेड
रियल मड्रिड र पिएसजी यसअघि ६ पटक एक अर्कासँग प्रतिस्पर्धा गरेका छन् । त्यसमा दुवै टिमले दुई दुई खेल जितेका छन् । दुई खेलमा बराबरी भएको छ । तर गोलका आधारमा पिएसजी अघि छ ।
उसले ६ खेलमा सात गोल गरेको छ भने रियल मड्रिडले ६ । रियल मड्रिडले यो प्रतियोगितामा घरेलु मैदानमा भएका पछिल्ला १७ खेलमा अपराजित छ । तर समूह चरणमा कीर्तिमानी २५ गोल गरेको पिएसजी उसका लागि ठूलो चुनौती बनेर आएको छ ।