
हुम्ला-जिल्लामा झै भगडा तथा अपराधिक घटना घट्नुमा घरेलु मदिरा रहेको केही दिन अगाडि जिल्लामा नयाँ सरुवा भएर आएकी प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईले बताएकी छन्।
आफू जिल्लामा आएपछि जिल्लाका सञ्चारकर्मीसँगको पहिलो भेटमा प्रजिअ भटराईले सो कुरा बताएकी हुन।
आफु जिल्लामा आएको दश दिनमा धेरै झै झगडाका केश आएको र आफूले यो अवधिमा अध्ययन गर्दा यसको मुख्य कारण घरेलु मदिराको प्रयोग रहेको पाएको बताउँदै उनले यसको नियन्त्रणका लागि आफ्नो पहिलो प्रयास रहने बताईन्।
कार्यालयमा उपस्थित भएको दिनदेखि सत्तरी प्रतिशत समय विवाद समाधानमा खर्च गर्नु परेको र बाँकी तीस प्रतिशत समय कार्यालयको काममा लगाउनु परेको गुनासो प्रजिअ भट्टराईले बताइन्।
जिल्लामा आउने ढुवानी खाद्यान्नबाट पनि गुणस्तरहिन मदिरा उत्पादन हुने खबर आएको र यसको अध्ययन गरि रहेको उनले बताइन्।जिल्लामा खाद्यान्न समस्या मुख्य रुपमा नभएर आएको खाद्यान्न अन्यत्र प्रयोग भएपछि समस्या देखिनु स्वभाविक भएको र यसको नियन्त्रणका लागि संचार क्षेत्र र नागरिक समाजको पनि सहयोगको अपेक्क्षा प्रजिअ भट्टराईले गरेकी छन्।
घरेलू सहित हुम्लामा अबैध चिनीया मदिरा थोपे पनि हुम्ला जिल्लाको चुवाखोला र टाँके नाकाबाट पनि आउने गरेको छ।यसको पनि नियन्त्रणका लागि पहल गर्ने उनले बताइन्।
कार्यक्रममा जिल्लामा कृयाशिल सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो। परिचयात्मक कार्यक्रममा सञ्चारकर्मीहरुले सुझाव तथा भविष्यमा आउन सक्ने समस्याका बारेमा प्रजिअ भट्टराईलाई जानकारी गराएका थिए।