
धनगढी : कञ्चनपुरमा शिक्षकको कुटाईबाट विद्यार्थीको मृत्यु भएको प्रकरणमा तीन शिक्षकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
न्यायाधीश गोपाल प्रसाद बास्तोलाको एकल इजलासले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रिन्सिपललाई धरौटीमा छाड्न र अन्य तीन जना शिक्षकलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।
कंचनपुरको महाकाली बाल विद्यालयमा अध्ययनरत माधव कलौनीको मृत्यु प्रकरणमा जिल्ला अदालतले तीन जना शिक्षकलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए ।
श्रेस्तेदार अवस्थीका अनुसार दुई दिन सम्म चलेको थुनछेक बहसपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरन्जन प्रसाद बोहराबाट एक लाख, प्रिन्सिपल यशोदा जोशीबाट तीन लाख रुपैयाँ धरौटी असुल्न र तीन शिक्षक लक्ष्मण प्रसाद भट्ट, दुर्गादत्त पाठक र हर्कबहादुर जाग्रीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश भएको हो ।
गत असार १३ गते शिक्षकको कुटाईबाट घाईते भएका बैतडीको शिवनाथ गाउँपालिका २ स्थायी घर भई भीमदत्त नगरपालिका ५ बनगाउँ मामाघरमा बसेर अध्ययन गर्दै आएका कलौनीको १२ दिनपछि मृत्यु भएको थियो ।
असार २५ मा मृतकका मामा पुष्पमणी जोशीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोहरा, प्रिन्सिपल जोशी सहित तीन शिक्षक विरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को अनुसुची–१ बमोजिम ज्यान सम्बन्धी कसुर मुद्दा दायर गरेका थिए । शिक्षकहरुले उनलाई समान्य दुई झापट मात्र हानिएको दावी गर्दै आएका थिए । कलौनीलाई उपचारका लागि डडेल्धुराको उप–क्षेत्रीय अस्पताल, महाकाली अञ्चल अस्पताल, नेपालगन्ज, हुदै भारतको राममूर्तिमा पुर्याइएको थियो । उनको उपचारका क्रममै मृत्यु भएको थियो ।