
काठमाडौँ – नेकपाकी सचेतक शान्ता चौधरी मध्यबानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा भर्ना भएकी छिन्।
महंगा निजी उच्च माध्यामिक विद्यालयहरुले निःशुल्क पढाइ दिने प्रस्ताव गरे पनि उनी सामुदायिक स्कुलमै मानविकी संकायमा भर्ना भएकी हुन्।
पढ्ने उमेरमा १८ वर्षसम्म कमलरी बस्न बाध्य भएकी चौधरीले असार दोस्रो हप्ता भएको एसईई परीक्षामा २.६५ जीपीए ल्याएर उत्तीर्ण भएकी थिइन्। उनले दाङको तुलसीपुरस्थित सेन्टर मावि केन्द्रबाट गएको चैतमा परीक्षा दिएकी थिइन्।
भर्नापछि फेसबुकमा भावुक हुँदै चौधरीले पढ्ने उमेरमा अरु कलेज जाँदा आफू टुलुटुलु हेरेर रुनु परेको र ढिलै भए पिन पढ्न पाउँदा खुशी लागेको लेखिकी छिन् । ‘प्राय कक्षा ११ मा भर्ना हुने १५र१६ वर्षको उमेरमा हो।
तर त्यो उमेरमा परिस्थितिले मलाई झोला बोकेर कलेज जानेहरुलाई टुलुटुलु हेरेर बस्ने बनायो, मुटु समातेर धरधरी रुने बनायो । आज मात्रै नयाँ बानेश्वर स्थित रत्नराज्य मा । वि को मानविकी संकायमा भर्ना भएको छु, चौधरीले फेसबुकमा लेखेकी छिन्।
यस्तो छ चौधरीले फेसबुकमा लेखेको स्ट्याटस
प्राय कक्षा ११ मा भर्ना हुने १५/१६ वर्षको उमेरमा हो । तर त्यो उमेरमा परिस्थितिले मलाई झोला बोकेर कलेज जानेहरुलाई टुलुटुलु हेरेर बस्ने बनायो , मुटु समातेर धरधरी रुने बनायो ।
आज मात्रै नयाँ बानेश्वर स्थित रत्नराज्य मा . वि को मानविकी संकायमा भर्ना भएको छु । दु:खको सागर पौडिदै गरेको मान्छे म , त्यही सागरबाट उतारेर मलाई संसार बुझ्न सक्ने र बिस्तारै मनभित्रका रहरहरु पुरा गर्न वातावरण निर्माण गरिदिने मेरो पार्टी तत्कालीन नेकपा( एमाले ) अर्थात हालको नेकपालाई हार्दिक धन्यवाद छ ।
हृदयदेखि नै धन्यवाद छ अग्रज नेताहरुलाई , शुभेच्छुक साथीहरूलाई , आफन्तजनहरुलाई र शिक्षाको ज्योति दिएर बाटो देखाउँदै गर्नु हुने आदरणीय व्यक्तित्वहरुलाई । ईच्छा मेरो , साथ तपाईंहरुको । तत्परता मेरो , प्रेरणा तपाईंहरुको । गुन तिर्न नसकुँला तर अन्तिम स्वाससम्म सम्झिरहने छु तपाईंहरुको साथलाई र भनिरहने छु “आभारी छु “।
तस्बिर सौजन्य: मा. शान्ता चौधरीको फेसबुकबाट