
बुटवल– इस्लाम धर्माबलम्बीको महान चाड बकर इदको अवसरमा प्रदेश ५ सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । वैशाख १२ गते प्रकाशित प्रदेश राजपत्रमा बकर इदमा बिदा दिने निर्णय उल्लेख छ ।
प्रदेश ५ सरकारले संघ सरकारले तोकेबाहेक माघी र माघे संक्रान्तिमा २ दिन, प्रदेश स्थापना दिवस फागुन ३ गते १ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस्तै स्थानीय तहको निर्णयबाट एक दिन र भुमे पुजा, बड्का अटवारी पर्व, रमजानलगायतमा निश्चित समुदायलाई मात्रै बिदोको व्यवस्था गर्ने राजपत्रमा उल्लेख छ ।
सोमबार इस्लाम धर्मावलम्बीहरुले बकर इद (इदुल अज्हा) मनाउँदैछन् । यो पर्व तीनदिनसम्म मनाइन्छ । नयाँ वर्षको रुपमा मनाउने यो पर्वमा इस्लाम धर्माबलम्बीले कुर्वानी गर्नु अनिवार्य हुन्छ ।
हज र कुर्वानी अनिर्वाय मानिने इस्लामका पाँच आधार स्तम्भ आस्था, नवाज, हज, रोजा र जकातममध्ये हजलाई मुख्य मानिन्छ ।
के महत्व छ बकर इदको ?
इस्लामी क्यालेण्डरअनुसार हिजरी सालको अन्तिम महिना जिलहिज्जाको १० तारिखका दिन यो पर्व मनाइने मुस्लिम अगुवा मुस्लिम आयोगका पूर्व अध्यक्ष निर्दोष अली बताउँछन् ।
इस्लामिक धार्मिक ग्रन्थ कुरानमा उल्लेख भएअनुसार पैगम्बर हजरत इब्राहिमलाई सपनामा अल्लाहले आफ्नो सबैभन्दा प्यारो चीज अल्लाहको नाममा बलिदान गर्न आदेश दिए । सो आदेशलाई स्वीकार गर्दै आफ्नो सबैभन्दा प्यारो चीज आफ्नै छोरा इस्माइल अलैयाहिस्सलामलाई बली दिने निर्णय गरे ।
उनले छोरालाई सो कुरा सुनाएनन् । तर छोरालाई आकाशवाणी भएर बली दिन लागेको भन्ने कुरा इस्माइललाई थाहा भयो । इस्माइलले अल्लाहका निम्ति बली चढ्नु आफ्नो लागि सौभाग्य हुने भन्दै स्वीकार गरे ।
इस्माइलले बाबु हजरतलाई भने–अल्लाहको नाममा बली चढ्नुभन्दा राम्रो काम दुनियाँमा केही पनि छैन, अल्लाहको नाममा मलाई बली दिने निर्णय गरेर तपाइँले ठीक गर्नुभयो, मलाई बली दिने क्रममा तपाइँको हात नकामोस्, त्यसका लागि तपाइँले आँखामा पट्टी बाँध्नुहोला ।’
कुरानमा लेखिएको उदृत गर्दै मुस्लिम अगुवा अलीले भने–हजरतले आँखामा पट्टी बाँधेर छोराको घाँटीमा चक्कुल चलाए, त्यसबेला बाख्राको आवाज सुनियो, हजरतले पट्टी खोलेर हेर्दा बाख्रा काटिएको थियो र छोरा इस्माइल अली पर सकुशल उभिइरहेका थिए, यो अल्लाहले हजरतको परीक्षा लिएको समय थियो, उनी परीक्षामा पास भएर उनका छोराको जीवन जोगियो, उनको कुर्वान (त्याग) को परीक्षा थियो त्यो ।’
सोही दिनको सम्झनामा विश्वभरिका इस्लाम धर्मावलम्बीहरुले बकर इद मनाउन थाले । कुरानअनुसार यो पर्वमा स्वस्थ चौपाया (बोका) को (कुर्वानी) बली दिनुपर्छ । बली दिइपछि स्वर्ग (जन्नत) को बाटो खुल्छ भन्ने विश्वास रहेको अली बताउँछन् ।
कुरान अनुसार कुर्वानी दिएको बलीको मासु तीन भागमा बाँडिन्छ । यसमध्ये एउटा आफ्नो घरमा, दोश्रो मस्जिदमा र तेश्रो आफन्तलाई बाँडिन्छ ।
यसरी शुरु हुन्छ इदको दिन
बिहानै उठी नित्य कर्म सकेर खुला मैदानमा गएर नवाज पढ्नु पर्छ । नवाज पढेर घर फर्किइसकेपछि बली दिइन्छ । आर्थिक अवस्था कमजोर हुनेहरुले बली दिदैनन् । उनीहरुलाई बली दिनसक्नेहरुले बलीको मासु (जसलाई तनुका भनिन्छ) बाँडिन्छ ।
तीन दिनसम्म मनाइने यो पर्वको तीन दिन नै बली दिने चलन छ । पहिलो बली घरमुलीको नामबाट, त्यसपछि परिवारका सदस्यहरुको नामबाट दिने चलन छ ।
जसको नामबाट बली दिइन्छ, उसले बलीसम्बन्धी सबै काम नसकिँदासम्म अन्न र पानी खानुहुदैन भन्ने मान्यता छ । जसको नामले बली दिइन्छ, त्यसले बलीको मासु प्रसादको रुपमा ग्रहण गरेपछि कुर्वानी सफल भएको मानिन्छ ।
सबैभन्दा प्रसिद्ध ठाउँ मक्का मदिना
मक्का मदिना मुस्लिमहरुको सबैभन्दा ठूलो र प्रसिद्ध मस्जिद हो । यो साउदी अरबमा छ । सो ठाउँमा जानुलाई मुस्लिम समुदायमा ठूलो धार्मिक सफलता मानिन्छ ।
मक्का मदिना हज गर्न जानेहरु त्यहाँ कैद गरि राखिएको भनिने शैतानमाथि ढुंगा हान्छन् र शैतानलाई ढुंगाले लागेपछि मक्का मदिनाको हज सफल भएको मानिन्छ । नेपालबाट वर्षेनी सयौं मुस्लिमहरु मक्का मदिना जान्छन् ।
मुख्यमन्त्री पोखरेलको शुभकामना
इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदउल अजाहा (बकर इद) पर्वको अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शुभकामना दिएका छन् ।
शुभकामना सन्देशमा उनले भनेका छन्–विभिन्न जाति र समुदायका पर्व र उत्सवले हाम्रो मुलुक रंगिएको छ । कुनै जाति विशेषले मनाउने पर्व र उत्सव अहिले सबैका साझा पर्व भएका छन् । सुमदाय विशेषका पर्व साझा बन्दै जानु विविधतायुक्त समाजका लागि सुखद विषय हो ।
सामाजिक सद्भाव, भातृत्व र मेलमिलापको वातावरण बनाएर मुलुकलाई एकताको मालामा बाँध्न यी पर्वले महत्वपूर्ण भूमिका खेलेका छन् ।बकर इदले पनि सद्भाव र भाइचारा बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।’
बकर इदको सांस्कृतिक महत्व र यसले दिने सन्देशलाई समाजमा प्रवाह गरी नेपाली समाजमा एकता, सद्भाव र मेलमिलाप अझै बढाउन आवश्यक रहेको उनले बताएका छन् ।