
च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले शानदार जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा पोर्चुगिज क्लब एफी पोर्टोलाई ५–० ले हराएको हो ।
पछिल्लो ९ वर्षमा च्याम्पियन्स लिगको नकआउट चरणमा पहिलो पटक स्थान बनाएको जर्गेन क्लोप्पको टिम लिभरपुलले प्रभावशाली जित निकालेको हो । लिभरपुलको जितमा साडिओ मानेले ह्याट्रिक गरे ।
यस्तै मोहम्मद सालह र रोबर्टो फिरमिनोले एक एक गोल गरे । मानेले २५ औँ मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुवाति अग्रता दिलाए । त्यसको चार मिनेटपछि सालहले गोल गरे ।
पहिलो हाफमा २–० को अग्रता लिएको लिरभपुलले दोस्रो हाफमा थप तीन गोल गर्यो । मानेले ५३ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।
यस्तै ६९ औँ मिनेटमा फिरमिनोले गोल गरेपछि अग्रता ४–० मा पुग्यो । खेल सकिन पाँच मिनेट बाँकी हुँदा मानेले ह्याट्रिक पूरा गरे र लिभरपुललाई ५–० को जित दिलाए ।