
काठमाडौं – एक दिवसीय विश्वकप क्रिकेटको छनौटमा स्थान बनाएको नेपालले बिहीबार आइसिसी विश्व क्रिकेट लिग डिभिजन टू को उपाधिका लागि युएईसँग प्रतिस्पर्धा गर्दैछ ।
राउण्ड रोबिन लिगका आधारमा भएको खेलमा बुधबार क्यानडालाई एक विकेटले हराउँदै नेपालले सन् २०१९ मा इंल्याण्डमा हुने विश्वकपको छनौट खेल्न पाउने भएको हो ।
नेपालले पाँच खेलमा चारमा जित र एकमा हारसहित ८ अंक जोडेर ६ राष्ट्र सम्मिलित प्रतिस्पर्धाको शीर्ष स्थानमा रहँदै छनौट खेल्न पाउने भएको हो ।
यस्तै पाँच खेलमा तीनमा जित निकाल्दै ६ अंक जोडेको युएईले शीर्ष दुईमा पर्दै छनौट तथा डिभिजन टू को उपाधिका लागि फाइनलमा स्थान बनाएको हो ।
नेपालसँग अन्तिम खेलमा हारेको क्यानडा भने रन रेटका आधारमा पछि परेर तेस्रो स्थानमा रहन बाध्य भयो ।
बुधबार भएको खेलमा क्यानडालाई एक विकेटले हराएको नेपालले आउँदो महिना जिम्बाबेमा एक दिवसीय विश्वकपका लागि छनौट खेल्ने छ ।
नेपाल लिग चरणमा ओमानसँग मात्रै हारेको थियो । फाइनल खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे नामिबियाको विण्डाहोक मैदानमा हुनेछ ।
नेपाल भर्सेस युएई : हेड–टू–हेड
यो प्रतियोगिताको लिग चरणमा भएको खेलमा नेपालले युएईलाई चार विकेटले हराएको थियो । जारी प्रतियोगितामा युएईमाथि नेपालको प्रदर्शन राम्रो रहे पनि समग्रमा भने नेपालको अवस्था राम्रो छैन ।
युएई र नेपालबिच अहिलेसम्म १३ पटक प्रतिस्पर्धा भएको छ । त्यसमा ९ खेलमा युएई विजयी भएको छ । नेपालले मात्रै तीन खेल जितेको छ भने एक खेलमा बराबरी भएको छ ।
नेपाल र युएईबिच सन् १९९८ देखि प्रतिस्पर्धा हुन थालेको हो । तर नेपालले युएईमाथि सन् २०१२ मा आएर मात्रै जित दर्ता गरेको थियो । उसले एसिसी एलिट ट्रफीमा युएईलाई चार विकेटले हराएको हो । त्यसअघि भएका ६ खेलमा नेपाल हारेको थियो ।