
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्नु अघि बिहान ९ बजे मन्त्री परिषद बैठक बस्दैछ ।
बुधबार बेलुका बस्ने भनिएको बैठक बिहीबार बिहानका लागि सारिएको हो । प्रधानमन्त्री देउवाले बुधबार नै मन्त्री परिषद बैठकपछि राजीनामाको घोषणा गर्ने तयारी गरेका थिए । तर त्यो एक दिनपछि धकेलिएको हो ।
बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री देउवाले त्यही क्रममा राजीनामाको घोषणा पनि गर्ने स्रोतले बताएको छ । मन्त्रीपरिषद बैठकमा सरकारको कार्यकालमा भएका कामबारे छलफल हुनेछ ।
निर्वाचन आयोगले बुधबार प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक तर्फ निर्वाचित सदस्याको नामावलीसहित प्रतिनिधिसभा निर्वाचनको पूर्व प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । यो प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएकाले देउवाले राजीनामा दिने तयारी गरेका हुन् ।
देउवा गएको जेठ २३ गते नेपालको ४० औँ प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । गणतन्त्र नेपालका नवौँ प्रधानमन्त्री बनेका देउवाको यो प्रधानमन्त्रीका रुपमा चौथो कार्यकाल हो ।
देउवाले आफ्नो नेतृत्वमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन गराए । निर्वाचनमा उनको पार्टी नेपाली कांग्रेसले नराम्रो हार बेहोरेको थियो । देउवाले राजीनामा दिएपछि अब वाम गठबन्धनको नेतृत्वमा सरकार बन्नेछ ।