
आदर्श प्रधान (मनोविज्ञ) –
डिप्रेसन एक किसिमको मानसिक रोग हो । यसले मानिसको व्यवहारमा फरकपन ल्याउँछ । यसले मानसिक, शारीरिक एवं भावनात्मक रूपमा समेत पीडा पुर्याउँदछ । यसले मानिसको दैनिक क्रियाकलापमा समेत अवरोध ल्याउने गर्दछ ।

मनोविज्ञ आदर्श प्रधान
मानिसमा धेरै नकारात्मक विचारहरू आउने गर्दछन् । निर्णय लिने क्षमता र आत्मविश्वासमा एकाएक कमी आउने गर्दछ ।
हरेक कुराको नकरात्मक विश्लेषण गर्ने, निराशाको भाव, एक्लोपनको भाव बढी देखिने गर्दछ । डिप्रेसन बढ्दै गएमा मानिसले आत्महत्यासमेत गर्ने गर्दछ ।
विश्व स्वास्थ्य संगठनले सन् १९९० मा गरेको अनुसन्धानअनुसार मानिसलाई पीडा दिने रोगहरूमध्ये डिप्रेसन चौथो भएको तथ्य सार्वजनिक गरेको थियो । सन् २०२० सम्ममा डिप्रेसन दोस्रो श्रेणीमा आउन सक्ने अनुमान गरिएको छ ।
डिप्रेसनबारे चेतना नहुनुले पनि यसको पहिचानमा कठिनाइ भएको छ । मानसिक रोग भन्नासाथ अझै पनि खुलेर बताउन नसक्ने समस्या छ ।
कतिपयलाई डिप्रेसन भएपछि निको हुँदैन भन्ने ठूलो भ्रम छ । डिप्रेसनको प्रकृतिअनुसार यसको उपचारमा कसैलाई कम समय त कसैलाई लामो समय लाग्न सक्छ । कसैलाई विनाऔषधि मनोविज्ञको परामर्शबाट निको हुन सक्छ । कसैलाई मनोचिकित्सकसँग परीक्षण गराएर औषधि सेवन गर्नुपर्ने हुन सक्छ ।
तर डिप्रेसनको उपचार सम्भव छ । डिप्रेसनको सुरुको अवस्थामा परामर्श गर्नुका साथै साइकोथेरापीद्वारा उपचार गरिन्छ । तर, यसको स्टेज बढेको छ भने मनोचिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्ने हुन्छ । चिकित्सकको सल्लाहविना औषधि भने छोड्नु हुँदैन ।
आफ्नो दैनिकी बनाउने
दैनिकी बनाउने र त्यसलाई पालना गर्नु राम्रो हुन्छ । जब मानिसमा डिप्रेसनका लक्षण देखिन थाल्छ, त्यसपछि दैनिकी नै बिग्रन थाल्छ । कुनै पनि कामप्रति जाँगर हुँदैन । त्यसैले बनाएको दैनिकीलाई अनुशासित रूपमा पालना गर्ने बानी बसालौँ ।
भावनालाई अभिव्यक्त गर्ने
डिप्रेसन भएपछि आफ्नो विचार, भावनालाई व्यक्त गर्न मन हुँदैन । तर, यसरी आफ्नो भावनालाई व्यक्त नगर्दा डिप्रेसनको समस्या झन् बढ्न सक्छ ।
त्यसैले आफूलाई लागेको जुनसुकै कुरा आफ्नो नजिकको साथी, परिवारलाई निर्धक्क बताउनु राम्रो हुन्छ । सामान्यतया मनको कुरा बताउँदा मन हल्का हुन्छ ।
व्यस्त रहने
दिमाग खाली भयो भने मनमा अनेकौँ कुरा आउँछन् । यो मनको स्वभाव नै हो । त्यसैले विशेष गरेर डिप्रेसनको समस्या भएको व्यक्ति व्यस्त भयो भने मनमा नकारात्मक विचारहरू आउँदैनन् ।
सकेसम्म एक्लै नबस्नु बुद्धिमानी हुन्छ । फुर्सद भयो भने पुस्तक पढ्ने, फेसबुक चलाउने, टिभी हेर्ने आदि गरेर पनि आफूलाई व्यस्त राख्न सकिन्छ ।
सकारात्मक सोच्ने
डिप्रेसनको अवस्थामा मनमा धेरै विचार आउने गर्छन् । त्यसमा पनि प्रायजसो नकारात्मक विचारहरू आउने गर्छ । त्यसैले नकारात्मक विचारलाई वास्ता नगरी सकारात्मक विचारहरूलाई सक्रिय बनाउनुपर्छ ।
हामीले जस्तो विचारलाई ऊर्जा दिन्छौँ, त्यस्तै विचार हावी हुने गर्दछ । जसका लागि सकारात्मक पुस्तकहरू अध्ययन गर्न पनि सकिन्छ ।
नियमित योग, ध्यान गर्ने
योग, ध्यानलाई आफ्नो दैनिकीमा जोड्नुहोस् । डिप्रेसनपछि हामीले गर्ने कुनै कामलाई निरन्तरता दिन कठिनाइ हुन्छ । त्यसैले नियमित योग, ध्यानका लागि योग केन्द्रतिर जानु राम्रो हुन्छ । जसले गर्दा आफूले गरेको क्रियाकलाप मिलेको छ कि छैन भनेर थाहा हुन्छ ।
नियमित योग, ध्यानले सकारात्मक चिन्तन, उत्प्रेरणा मिल्नुका साथै तनाव पनि कम गर्छ । मनोविज्ञ आदर्श प्रधान होलिस्टिक माइन्ड्स एन्ड लाइफ सेलिब्रेसन सेन्टर, धापासीमा कार्यरत छन् ।