
काठमाडौं – नेकपा एमालेको संसदीय दलको बैठक बिहीबार बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा साढे १२ बजेपछि बैठक बस्नेछ ।
बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई एमाले संसदीय दलको नेता सर्वसम्मत रुपमा चयन गर्नेछ । शेरबहादुर देउवाले प्रधानमन्त्रीबाट राजीनामा दिएको र वाम गठबन्धनले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष अनुरोध पेश गरेको अवस्थामा एमालेले ओलीलाई संसदीय दलको नेताको रुपमा चयन गर्न लागेको हो ।
एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार नै प्रधामन्त्रीमा नियुक्त गर्ने तयारी छ । वाम गठबन्धनको तर्फबाट बहुमतसहित प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी प्रस्तुत गरेको ओलीलाई बिहीबार नै प्रधानमन्त्रीमा नियुक्त गरेर शपथ गराउने तयारी भएको हो ।
उनको शपथ दिउँसो ४ बजे गर्ने गरी राष्ट्रपति कार्यालयमा तयारी भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामाको घोषणा गरिसकेका छन् ।
संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नआएको अवस्थामा दुई वा त्यो भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रतिनिधिसभा सदस्य प्रधानमन्त्री बन्ने व्यवस्था अनुसार एमाले अध्यक्ष ओलीलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्न वाम गठबन्धनले अनुरोध गरेको छ ।
राष्ट्रपति भण्डारीले संविधानको ७६ (२) को व्यवस्था अनुसार बिहीबार नै ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेर शपथ गराउने तयारी गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।