
दाङ– एसएलसी दिएपछि नेहा चौधरीको पढाइको यात्रा मोडियो। उनका साथीहरु विज्ञान, कमर्स पढ्नतिर लागे। उनी भने फेसन डिजाइनिङ सिक्न काठमाडौँ लागिन्।
तीन वर्षमा उनी फेसन डिजाइनरको पहिचान बनाएर आफ्नै ठाउँमा फर्किएकी छन्। सानैदेखि उनलाई मानिसले गर्ने फेसनसँग रुची थियाे। आफूले पनि फेसनमा रुची राख्ने भएकाले उनको पढाइको यात्रा मोडिन पुगेको हो।
‘समय अनुसार मानिस चल्नुपर्छ। सोचमा पनि परिवर्तन ल्याउन जरुरी छ’, उनले भनिन्, ‘मानिसको रुची अनुसार उसले पोशाक रोज्छ। त्यही रुचीलाई पूरा गर्न हामीले सहयोग गर्छौँ।’
साडी, गाउन लगायत अन्य थुप्रै कपडा फेसन अनुसार बनाउने र बुटीक भरिने नेहाले बताइन्। नेहा फेसन डिजाइनर हुन् भने उनकी दिदी शुभेच्छा चौधरी सञ्चालक।
फेसन डिजाइन पढेर धेरैको रोजाइ विदेश हुन्छ। तर नेहा र शुभेच्छा आफ्नै ठाउँमा फर्किएका छन्। यी दिदीबहिनी मिलेर लमहीमा फेसन बुटिक पसल सञ्चालनमा ल्याएका हुन्।
दश लाखको लागतमा पसल खोलिएको छ। छोरीहरुले सञ्चालनमा ल्याएको पसलको आमा श्री चौधरीले उद्घाटन गरिन्। ‘छोरीहरुले जे चाहे त्यही पढाएँ’, उनले भनिन्,‘फेसन डिजाइन पढेर आफ्नै ठाउँमा पसल सञ्चालन गरेकोमा खुशी छु।