
सिमकोट– हिमाली जिल्ला हुम्लाका तीन वटा गाउँपालिका प्रशासकीय प्रमुख नहुँदा निमित्तको भरमा सञ्चालन हुँदै आएका छन्।
शाखा अधिकृत स्तरका प्रमुख प्रशासकीय प्रमुखहरु सरुवा भएर अन्यत्र गएपछि उनीहरुको ठाउँमा नयाँ व्यवस्था नभएसम्मका लागि गाउँपालिकामा भएका साविककै सुब्बालाई निमित्तको जिम्मेवारी दिइएको छ।
करिब एक वर्षदेखि चंखेली गाउँपालिका निमित्त प्रशासकीय प्रमुखकाे भरमा सञ्चालन हुँदै आएको छ। गत वर्ष असोजपछि प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएपछि अर्को व्यवस्था नहुँदा गाउँपालिकाकाकै सुब्बाले निमित्तको जिम्मेवारी सम्हाल्दै आएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख राजन रेग्मीले जानकारी दिए।
यस्तै चार महिना अगाडि प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएपछि नाम्खा गाउँपालिका पनि निमित्तकै भरमा सञ्चालन हुँदै आएको छ। त्यसैगरी गत साउनबाट ताँजाकोट गाउँपालिका पनि निमित्त कै भरमासञ्चालन हुँदै आएको छ।
निमित्तको भरमा गाउँपालिका सञ्चालन हुँदा कतिपय अवस्थामा नीतिगत कुरा कठिन हुने प्रमुख रेग्मीले बताए।