
सिमकोट – नेपाल खाद्य संस्थानद्धारा अघिल्लो आर्थिक वर्षमा हुम्ला जिल्लामा थपेको ढुवानी अनुदानको खाद्यान्न काठमाडौँबाट तिब्बतीको खाद्यान्न केरुङ नाका पुगेको छ ।
गत जेठमा जिल्लाको माग अनुसार थप भएको खाद्यान्न तिब्बतको बाटो हुँदै ल्याउने प्रकृया मिलाउन समय लागेपछि बल्ल काठमाडौँबाट केरुङ पुगेर हुम्ला आउन लागेको हो ।
हुम्लाका लागि पाँच हजार पाँच सय क्वीन्टल खाद्यान्न केरुङ पुगेको संस्थानको सिमकोट शाखाका प्रमुख रामबहादुर बिष्टले बताए । संभवत केरुङबाट बुधबार चलानी हुने खाद्यान्न दुई दिनमा हिल्साका आउने र तत्कालै सिमकोट पुर्याईनेछ । आर्थिक वर्ष ०७५–०७६ मा जिल्लाको थप कोटाको खाद्यान्न माग अनुसार संस्थानको प्रधान कार्यालयले पाँच हजार पाँच सय क्वीन्टल खाद्यान्न काठमाडौँबाट केरुङ नाका हुँदै ढुवानी गर्ने गरी स्वीकृत दिएको थियो ।
उक्त खाद्यान्न पैदल मार्ग अन्तर्गतको खाद्यान्न हो । खाद्यान्न ढुवानीको जिम्मा असारमै परे पनि तिब्बती बाटो हुँदै खाद्यान्न ढुवानी गर्ने प्रकृया मिलाउन लामै समय लागेको सप्लायर्स कम्पनीले जनाएको छ । अब सबै प्रकृया मिलेर खाद्यान्न केरुङ पुगेको र जति सक्दो चाँडो उक्त खाद्यान्न सिमकोट पुर्याईले कम्पनीले जनाएको छ ।
काठमाडौँ–केरुङ हुँदै तिब्बती मार्ग र हिल्साबाट याल्वाङबाट सिमकोटसम्म ढुवानी भएर आउने खाद्यान्न हवाई मार्ग भन्दा सस्तो हुने भएको छ । अब केरुङ मार्गबाट ढुवानी भएर आउने खाद्यान्न प्रतिकेजी ८४ दशमलव ९५ रुपैयाँ पर्ने छ । जबकी सोही खाद्यान्न नेपालगञ्जबाट सिमकोट हवाई मार्गबाट ढुवानी गर्दा प्रति केजी ११५ रुपैयाँ पर्ने गरेको छ । यसबाट राज्यलाई ३० रुपियाँ ब्ययभार कम हुनेछ ।