
सिमकोट– हिल्दुम साना जलविद्युत् आयोजनाको विद्युत गृहमा रहेको मोटर जलेपछि हुम्लाका दुई वटा गाउँपालिका अन्धकार भएका छन्।
काम गर्दागर्दै बुधबार बेलुका विद्युत गृहको मोटर जल्दा सदरमुकामसमेत रहेको सिमकोट र गार्पुनाथ गाउँपालिकामा अन्धकार छाएको छ।
साढे दुई सय किलोवाट विद्युत उत्पादन गर्ने मेशिनको मोटर काम गरिरहेको अवस्थामा जलेपछि विद्युत सेवा अवरुद्ध भएको हिल्दुम विद्युत वितरण केन्द्रका प्रशासन प्रमुख याम प्रकाश खड्काले बताए।
जलेको मोटर मर्मतका लागि नेपालगञ्ज पठाउनु पर्ने भएको उनको भनाई छ। पावर हाउससँग रहेको अर्को साढे दुई सय किलोवाट मेशिनको मोटर भएको तर धरै समय प्रयोगमा नआएको कारण काम गर्ने वा नगर्ने यसै भन्न नसकिने अवस्था छ।
तर, प्राविधिकहरुको टोली पावर हाउसमा उक्त मोटर जडानका लागि गएको छ। यदी उक्त मोटरले काम नगरे विद्युत सुचारु हुन केही समय लाग्ने छ।
विद्युत सेवा अवरुद्ध हुँदा सिमकोट र खार्पुनाथ गाउँपालिका बुधबार बेलुकैबाट अन्धकार छाएको छ भने विद्युतबाट सञ्चालन हुने सबै कामहरु रोकिएका छन्।
सेवाग्राहीहरुलाई मोबाइल चार्ज गर्न पनि कठिन भएको छ। बिहीबार दिउँसो सबै सरकारी तथा गैरसरकारी कार्यालयको काम पनि प्रभावित हुनेछ।
यसबाट हिल्दुम वितरण केन्द्रका एक हजार ६ सय भन्दा बढी ग्राहकहरु प्रत्यक्ष रुपमा मर्कामा परेका छन् । विद्युत सेवा अवरुद्ध हुँदा यसबाट सञ्चारकर्मीहरु समेत मर्कामा परेका छन्।