
सिमकोट – नेपाल कम्युनिष्ट पार्टी नेकपाले पूर्णता पाएको दुई महिनापछि स्थानीय स्तरका पार्टी संरचनाले पूर्णता पाएको छ । नेकपा कर्णाली प्रदेश किमिटीमा हुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको बैठकले सचिवालय, गाउँ कमिटी, वडा, विभाग प्रादेशिक निर्वाचन कमिटीलाई पूर्णता दिँदै बैठक सम्पन्न भएको हो ।
पार्टीद्धारा आयोजित पत्रकार सम्मेलन गर्दै उक्त पार्टीका अध्यक्ष लालकेश जैशीले ४५ सदस्यीय सचिवालयमा २३ जना पूर्व माओवादी केन्द्र र २२ जना पूर्व एमालेबाट सदस्यहरु लिने निर्णय गरिएको जानकारी गरिएको थियो । त्यसैगरी सातवटा गाउँपालिका मध्ये पूर्व माओवादीलाई चारवटा र पूर्व एमालेलाई तीनवटा गाउँपालिका दिएर पूर्णता प्रदान गरिएको छ ।
यता गाउँपालिकाका इन्चार्जहरुमा प्रदेश कमिटिका सदस्यहरुलाई जिल्लामा लगाइएको छ भने दुईदेखि तीनजनासम्म सहइन्चार्ज पनि राखिएको छ । सातवटा गाउँपालिकाका ४४ वटा वडा मध्य २२ वटा पूर्व माओवादी र २२ वटा पूर्व एमालेलाई जिल्ला लगाउने निर्णय गरिएको छ ।
यसको नेतृत्व भने गाउँपालिका कमिटीको छलफलबाट टुंगो लगाउने निर्णय भएको छ । वडाको इन्चार्ज पनि सचिवालय सदस्यहरुलाई जिम्मा लगाउने निर्णय गरिएको छ । त्यसैगरी १४ वटा विभागमा सात–सात वटा विभागहरु पूर्व दुई पार्टीलाई जिम्मा लगाइएको छ । त्यसैगरी बैठकले यसअघि कार्य सञ्चालन टिम पाँच सदस्यीय भएकोमा त्यसलाई दुईजना थपेर सात सदस्यीय पुर्याइएको छ ।
यता प्रादेशिक चुनावी समन्वय समिति पनि एक–एक क्षेत्र पूर्व दुई पार्टीलाई जिम्मा लगाइएको छ । बैठकमा नेकपामा केन्द्रीय सदसय एवं इन्चार्ज विजय भण्डारी, कर्णाली प्रदेश कमिटी सदस्य, छिमीदोर्जे लामा, सासद छक्कबहादुर लामा, लोकबहादुर हमाल, दलबहादुर फडेरा, हस्तबहादुर शाही, रणसिंह सुनार लगाएको उपस्थिति रहेको थियो ।