
यसभन्दा पहिला हिजो २ सेप्टेम्बरका दिन दिउँसो स्थानीय समयअनुसार १३ बजेर १५ मिनेट जाँदा इसरोका वैज्ञानिकले ‘ प्यारेन्ट यान आर्बिटर’ बाट अर्को यान ‘ल्याण्डर विक्रम’लाई ‘अनडक’ गराएका थिए।
ल्याण्डर विक्रम २ सेप्टेम्बरको दिन नेपाली समय १३.१५ बजे आर्बिटरदेखि ‘अनडक’ भएपछिदेखि झन्डै २० घन्टासम्म ‘प्यारेन्ट यान आर्बिटर’को पछि एउटै दिशामा २ किमि प्रतिसेकेण्डका गतिले चन्द्रपरिक्रमा गरिरहेको थियो।
३ सेप्टेम्बरमा इसरोले ल्याण्डरको आर्बिट परिवर्तन गरेर यसलाई आर्बिटरबाट तल्लो आर्बिटमा विपरीत दिशामा गति गर्ने गरी स्थापित गरेको छ। यसलाई अन्तरिक्ष विज्ञानको भाषामा ‘डिआर्बिट’ गर्नु भनिन्छ। यसरी दिशा परिवर्तन गर्नुको कारण ल्याण्डरले चन्द्रमाको दक्षिण ध्रुबमा ओर्लिने कार्यक्रमले गर्दा हो। ल्याण्डरले ७ सेप्टेम्बर मा चन्द्र धरातलमा ल्याण्ड गर्ने कार्यक्रम छ।
इसरोले ट्विटरमा गराएको जानकारीअनुसार वैज्ञानिकहरुले ४ सेप्टेम्बरमा पुनः ल्याण्डरको आर्बिट परिवर्तन गरेर यसलाई ३६x११० किमिको आर्बिटमा स्थापित गर्ने छन्। ५ र ६ सेप्टेम्बर दुबै दिन ल्याण्डरले यसै आर्बिटमा रहेर चन्द्र परिक्रमा गरिरहनेछ।
यी दुबै दिनको अवधिमा इसरोले ल्याण्डर विक्रमका ‘सेन्सर’ जाँच गर्नुका साथै पेलोडका रुपमा यसभित्र राखिएको रोभर प्रज्ञानको जाँच–परीक्षण लगायतका काम गर्नेछ।
चन्द्रमामा ल्यान्डिंग ७ सेप्टेम्बरको बिहान ,चन्द्रमामा सूर्योदय हुनासाथ
इसरोले गराएको जानकारीअनुसार अन्दाजी ३६ किमीमाथि रहेको ल्याण्डरलाई चन्द्रमामा ओराल्ने प्रक्रिया ७ सेप्टेम्बरको दिन प्रारम्भ हुनासाथ (६ सेप्टेम्बरको राति १२ बजेपछि) गरिने छ।
७ सेप्टेम्बरको बिहान १ बजेतिर झन्डै ३६ किमि माथि रहेको ल्याण्डरलाई चन्द्रमाको दक्षिण ध्रुबमाथि हुँदा ल्यान्डिङ गराउने प्रक्रिया थालिनेछ। यस प्रक्रियामा ल्याडरको इञ्जिन प्रज्वलित गरी यसको गति २०० मिटर प्रतिसेकेण्ड राखी तल ओराल्ने काम सुरु गरिने छ। यस गतिले झण्डै २९ किमि तलको यात्रा गर्न ल्याण्डरलाई १ सय ४५ सेकेण्डको समय लाग्ने छ। यसपछि यानको गति अझै १ सय गुना कम अर्थात् जम्मा २ मिटर प्रति सेकेण्डमा ल्याइनेछ। ल्याण्डरले बाँकी रहेको ६ किमिको दूरी २ मिटर प्रति सेकेण्डको गतिले पूरा गर्नुपर्ने हुन्छ। यस गतिले ल्याण्डरलाई चंद्र धरातल छुन झन्डै ३ हज़ार सेकेण्ड अर्थात ५० मिनटको समय लाग्ने छ। चन्द्रमामा गरिने ‘सॉफ्ट ल्यान्डिंग’का लागि योभन्दा बढी गति खतरनाक हुन्छ।
इसरोका अध्यक्ष के सिवनका अनुसार ल्याण्डिङ गर्ने बेलाको अन्तिमका १५ मिनेट अत्यन्त चुनौतीपूर्ण हुनेछन्। यानको गतिलाई नियन्त्रित गरेर सुरक्षित ल्याण्डिङ गर्नु नै अभियानको सबैभन्दा जटिल र चुनौतीपूर्ण पक्ष हो।
इसरोका अनुसार ७ सेप्टेम्बरको बिहान १ः३० देखि २ः१५ सम्म ल्याण्डर चन्द्रमाको दक्षिणी ध्रुव मैंजिनस–सी र सिंपेलियस–एन नामक क्रेटर( खाडल )का बीच रहेको मैदानमा ओर्लिने छ।
ल्याण्ड गरेको झण्डै २ घन्टापछि ल्याण्डर विक्रमको ‘र्याम्प’ खोलिन्छ र यसबाट ६ वटा चक्का रहेको रोभर प्रज्ञान बाहिर निस्कनेछ।
रोभर प्रज्ञानले ल्याण्डरबाट निस्केर चन्द्र धरातल टेकेको झण्डै १ घण्टापछि यसमा जडित ‘सोलार प्यानल’ खोलिने छन्। रोभरले यसैबाट ऊर्जा प्राप्त गर्छ।
इसरोले गरेको अनुमानअनुसार ७ सेप्टेम्बरको बिहान ५ बजे सम्म रोभर प्रज्ञानले चन्द्र धरातलमा हिँड्ने कार्य प्रारम्भ गर्नेछ। रोभर प्रज्ञानको चन्द्रमामा हिँड्ने गति १ सेन्टिमिटर प्रति सेकेण्ड मात्रै हुनेछ। रोभर प्रज्ञानले चन्द्रमाको एक दिनसम्म चन्द्र धरातलमा घुमफिर गर्नेछ यो अवधि भनेको पृथ्वीको झण्डै १३.५ दिन बराबर हुन्छ। यस अवधिमा रोभरले झण्डै ४ सय मिटर हिँडेर चन्द्रयात्रा गर्नेछ।
रोभर प्रज्ञानले यात्रा सुरु गरेको १५ मिनेटभित्र इसरोलाई सन्देश पठाउने काम थाल्नेछ। प्रज्ञान र पृथ्वीस्थित इसरोको नियन्त्रण कक्षबीच सीधा सम्पर्क हुँदैन। प्रज्ञानले ल्याण्डर विक्रमलाई सन्देश पठाउँछ। ल्याण्डर बिक्रमले चन्द्र धरातलबाट झण्डै १०० किमिमाथि उडिरहेको आर्बिटरलाई सन्देश ‘फरवार्ड’ गर्छ र आर्बिटरले ल्याण्डर विक्रमबाट प्राप्त भएको सन्देशलाई पृथ्वीस्थित इसरोको नियन्त्रण कक्षलाई पठाउने काम गर्छ।
रोभर प्रज्ञानले पठाएको सन्देश पृथ्वीमा आइपुग्न झण्डै १५ मिनेटको समय लाग्ने छ।
रोभर प्रज्ञानको तौल २७ किलोग्राम छ।