
यो सिजन बार्सिलोनबाट कीर्तिमानी मूल्यमा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) जाँदा लागेको थियो, नेइमार त्यहाँ लामो समय बस्नेछन् ।
तर सिजनको मध्यतिरै उनी रियल मड्रिड जान चाहेको खबर आउन थाल्यो । रियल मड्रिडले पनि उनलाई ल्याउन सबै प्रयास गर्ने संकेत देखायो ।
तर स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो आफ्नो ठाउँ नेइमारलाई दिन तयार छैनन् । नेइमारले पनि रोनाल्डोलाई क्लबबाट बिदा गरेमा मात्रै आफू आउने बताएको खबर पनि आए ।
तर च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गतको पहिलो लेगमा बर्नाबेउमा देखिएको दृश्यले रोनाल्डो र नेइमार सँगै खेल्न तयार रहेको संकेत गर्यो ।
यो खेलमा रियल मड्रिड ३–१ ले विजयी भयो । रोनाल्डोले दुई गोल गरे र च्याम्पियन्स लिगको इतिहासमा एकै क्लबबाट १०० वा त्यो भन्दा बढी गोल गर्ने पहिलो खेलाडी बने ।
नेइमारले गोल गर्न सकेनन् । तर मैदानमा रोनाल्डो र नेइमारको स्नेहको दृश्यले उनीहरु भविष्यमा एकै क्लबबाट खेल्न सक्ने संकेत गर्यो । स्पेनिस पत्रिका मार्काका अनुसार यस विषयमा खेलपछि सोध्दा नेइमारले मुस्कुराएर सकारात्मक संकेत गरेको उल्लेख गरेको छ ।