
काठमाडौं – अन्तिम चरणमा पुग्यो भनेर पनि अड्किएको वाम एकता (एमाले र एकीकृत माओवादी एकीकरण) को प्रयासलाई अन्तिम रुप दिन आइतबार एकता संयोजन समितिको बैठक बस्दैछ ।
सिद्धान्त तथा पदीय भागबण्डामा कुरा अड्किँदा गएको बुधबारपछि एकता संयोजन समितिको बैठक बस्न सकेको थिएन ।
तर शनिबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच बालकोटमा भएको छलफलपछि आइतबारका लागि एकता संयोजन समितिको बैठक तय भएको हो ।
ओली र प्रचण्डबिच भएको वार्तापछि अड्किएको ठाउँबाटै एकता प्रक्रियालाई निरन्तरता दिने सहमति बनेको बताइएको छ ।
एमाओवादीले एकतासँगै पार्टी तथा सरकारमा हुने पदीय भागबण्डा सबैमा प्याकेजमा सहमति हुने बताउँदै आएको छ । तर त्यस विषयमा कुरा मिल्न सकेको छैन । यसैले गर्दा ओली प्रधानमन्त्रीमा नियुक्त भएर एमालेका केही नेता मन्त्री बन्दा पनि माओवादी सरकारमा गएको छैन ।
तर आइतबार एकता संयोजन समितिको बैठक बस्ने र त्यसले एकता प्रतिक्रयालाई अघि बढाउने नेताहरुले बताएका छन् ।
अबको एक हप्ताभित्र एकता प्रक्रियाले मूर्त रुप पाउने दुवै तर्फका नेताहरुले बताएका छन् ।
आइतबार एकता संयोजन समितिको बैठक बस्नुअघि माओवादी अध्यक्ष प्रचण्डले पार्टीमा ओलीसँग शनिबार भएको वार्ताका बारेमा जानकारी गराउने छन् ।
त्यसपछि लिखित सहमति गर्ने र सरकारमा पनि सहभागी हुने गरी जाने तयारी रहेको माओवादी नेताले बताएका छन् ।
अड्किएको एकता प्रक्रिया शनिबार ओली र प्रचण्डबिच भएको बालकोट वार्ताले अघि बढाएको देखिए पनि अप्ठ्यारा भने धेरै रहेको र त्यसलाई चिर्न दुवै पक्षका नेतामा ग्याग गर्न सक्ने खुबीको खाँचो भने रहेको छ ।
सम्बन्धित समाचार
ओली–प्रचण्ड ‘ब्रेक–थ्रु’ वार्तामा, एकता संयोजन समितिको बैठक स्थगित