
सिमकोट – पेनस्टिक पाइप नयाँ जडान र नहरको मर्मत कार्य तीव्र रुपमा सञ्चालन भैरहेको छ । गत भदौ २० गतेबाट पाइप जडान तथा नहर मर्मतका लागि विद्युत सेवा बन्द गरि मर्मत कार्य तीव्र पारिएको हो ।
६३ मिटर नयाँ पेनस्टिक पाइप जडान गर्ने कार्य उपभोक्ता समितिबाट गर्नु पर्नेमा ८० प्रतिशत कार्य सकिएको उक्त आयोजनाका इन्जिनीयर दावा जाङ्मु शेर्पाले बताए ।
हाल निर्माण स्थल मै रहेका उनले जम्मा २६ पिस पाइप जडान गर्नु पर्नेमा ११ पिस जडान गरिसकेको र अब १५ पिस बाँकी रहेकोमा त्यो पनि मंगलबार बेलुका वा बुधवार बिहानसम्म जडान भइसक्ने जानकारी दिए ।
पेनस्टिक पाइप भने सबै पिस निर्माण स्थलमा पुगि सकेका छन् । त्यो सँगै पाइप राखिएको स्थानमा ग्याबिन भर्ने र सिमेन्टको कार्य पनि सकिएको छ । दुई देखि तीन दिनमा उपभोक्ताको काम सबै सम्पन्न हुने उनले बताए ।
यता फर्बे ट्याङ्की नजिकको नहरमा यस अघि प्लाष्टिकको पाइप राखिएकोमा अब त्यसका ठाउँमा पेनस्टिक पाइप नै राखिने भएको छ । १२ पिस पेनस्टिक पाइप नहरमा लगेर जडान गरेमा त्यसको मर्मत कार्य सबै सम्पन्न हुनेछ । नहरको दक्षिणतर्फ ग्याबिन वाल लगाउने कार्य पूरा भैसकेको र पावर हाउसमा रहेको पाइप नहरमा पुग्ने बित्तिक्कै जडान कार्य पूरा गरेर विद्युत आपूर्ति सुरु गरिने आयोजनाका प्राबिधिक गब्बर लामाले बताए ।
४ देखि ५ गतेसम्म परीक्षण प्रशारण गर्ने तयारी आयोजनाले गरेको छ। पाँच सय किलोवाट विद्यूत उत्पादन गर्ने क्षमता भएको आयोजना हाल बन्द हुँदा एक हजार आठ सय भन्दा बढी सिमकोट र खार्पुनाथ गाउँपालिकाका सेवाग्राही विद्युत सेवाबाट बन्चित छन् ।