
जनकपुरधाम– दशैँको अवसरमा प्रत्येक वर्ष जनकपुरधाममा आयोजना हुने सस्ताे बजार यस पटक असोज १२ गते घटस्थापनाका दिनदेखि १९ गतेसम्म लाग्ने भएको छ।
दशैँ, दिपावली तथा छठ पर्वको उपलक्ष्यमा जनकपुरधाममा हरेक वर्ष सस्ताे बजार लाग्ने गरेको छ।
दशैँ बजार व्यवस्थापन मूल समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको अध्यक्षतामा मंगलवार भएको बैठकमा बजारलाई व्यवस्थित बनाउनका लागि आठ वटा उपसमितिहरु समेत बनाइएकाे छ।
दशैँ बजारलाई सस्तो बजार पनि भनिएकाले जनताले केही सस्तो मूल्यमा सामान खरिद गरेको अनुभूति गराउने उद्देश्यले मूल्य निर्धारण गर्ने गरि विभिन्न उपसमितिहरु निर्माण गरिएको छ।
गठन गरिएको उपसमितिहरुमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा आपूर्ति व्यवस्थापन उपसमिति, जनकपुर उद्योग वाणिज्य संघका महासचिवमा जितेन्द्र महासेठको संयोजकत्वमा स्टल व्यवस्थापन उपसमिति, वरिष्ठ उपाध्यक्ष जितेन्द्र साहको संयोजकत्वमा गुणस्तर तथा मूल्य निर्धाण उपसमिति, प्रचार–प्रसार उपसमितिमा नेपाल पत्रकार महासंघका अध्यक्षको संयोजकत्वमा रहने गरि उपसमिति गठन गरिएको छ।
यसैगरि सरसफाई उपसमितिको संयोजकमा जनकपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य निरज साह, अनुगमन तथा सुपरिवेक्षण उपसमितिमा सहायक प्रमुख जिल्ला अधिकारी, धनुषाका प्रहरी उपरीक्षकको संयोजकत्वमा शान्ति सुरक्षा उपसमिति तथा नेपाल रेडक्रस सोसाईटीका सभापति नरेशप्रसाद सिंहको संयोजकत्वमा प्राथमिक उपचार उपसमिति गठन गरिएको छ।
जनकपुरधामको गोपाल धर्मशालामा लाग्ने दशैँ बजारमा ८० देखि ८५ वटासम्म स्टलहरु रहने संघका अध्यक्ष ललित साहले जानकारी दिए। देश तथा विदेशमा उत्पादन भएका सामानहरु विक्रिका लागि कक्षमा राखिने भएको छ। प्रत्येक वर्ष आयोजना हुने सस्ताे बजारमा आउनेहरुको घुँइचो लागेको हुन्छ।