
नेपालगञ्ज – जन्तीलाई खुवाउन मग्मगाउँदो खाना पाकिरहेको छ। खाना खानेलाई बसाउन खेतमा टेन्ट लागेको छ। घर सिंगारिएको छ। भित्र दुलहीलाई सिंगार्ने टोली खटिएका छन्।
यत्तिनै बेला प्रहरीको टोली पुग्यो। प्रहरी निरीक्षक रणबहादुर विष्टको टोलीले घरमै गएर भन्यो, ‘केटीको उमेर नपुगी विवाह हुन थालेको उजुरी आएको छ । विवाह रोक्नुस्।’ घरमा खैलाबैला मच्चियो। दुलही सिंगार्नेहरु आत्तिए। घरका मानिसहरु अब के हुन्छ भन्ने तनावमा परे। खेतमा जन्तीलाई खुवाउने खाना भने पाकिरह्यो।
नेपालगञ्ज–१८, भुजईगाउँको रामप्रसाद तेलीको १९ वर्षीया छोरी सरिताको विवाहको तयारी भइरहेको थियो। कसैले उमेर नपुगी सरिताको विवाह हुन थालेको उजुरी गरिदिएपछि प्रहरी विवाह रोक्न पुगेको हो।
प्रहरी निरीक्षक विष्ट ‘विवाह रोक्नुस्, तपाईहरु घरका मान्छे जिप्रका आउनुस्’ भनेर फर्किए। डुडुवा गाउँपालिकाको साहपुरुवाका २१ वर्षीय सञ्जय तेलीको विवाह सरितासँग हुन थालेको थियो। प्रहरीले केटाको घरमा पुगेर ‘जन्ती नल्याउन र ल्याएमा पक्राउ पर्ने’ बताएको केटापक्षका आफन्तहरुले बताए।
स्रोतका अनुसार, विवाह हुन नदिन सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ। घरपरिवारले खाना पकाइसकेकाले आफन्तीहरुलाई बोलाएर खुवाउने प्रहरीलाई जानकारी गराएका छन्। प्रहरी निरीक्षक विष्टले विवाह रोकिएको बताए। ‘पाकिसकेको खाना फाल भन्न मिलेन, आफन्तलाई बोलाएर खुवाउँछौ भनेका छन्, त्यो त पायो, विवाह चाहिँ हामीले रोकेका छौं, विष्टले भने।
मधेसी समुदायमा उमेर नपुग्दै विवाह गर्नेे र गौना, थौना, आला, चाला गरेर छोरीलाई घरमा पठाउने गरिन्छ। यी प्रक्रिया पूरा गर्न केही वर्ष लाग्छ। यसलाई उनीहरु आफ्नो रीतिरिवाज, संस्कार, परम्परा भन्छन्। विवाह गरेको पाँच वर्षमा यी रीति पुर्याएर छोरीलाई पठाउने मधेसी अगुवाहरु बताउँछन्। यही रीतिलाई टेकेर अहिले पनि बाँकेलगायत तराईका जिल्लामा बालविवाह हुने गर्दछ।
कानूनले भने रीति, रिवाज, संस्कार र परम्परालाई चिन्दैन। मुलुकी ऐन विहावारी महलको दुई नम्बरमा विहावारी गर्दा महिला र पुरुषको उमेर २० वर्ष नपुगी विहावारी गर्न/गराउन हुँदैन भन्ने उल्लेख गरेको छ। कानूनमा १० वर्ष भन्दा कमको विवाह गराए ६ महिनादेखि ३ वर्ष कैद, १० देखि १४ वर्षको विवाह गराए ३ महिनादेखि एक वर्ष कैद, १४ देखि १८ वर्षको विवाह गराएमा ६ महिना कैद र २० वर्ष भन्दा कम विवाह गरेमा ६ महिना कैद र १० हजार जरिवाना तोकिएको छ। बालविवाह गर्ने/गराउने सबैलाई सजाय हुने उल्लेख छ।
पुरोहित, लमी, मद्दतिसम्मलाई एक महिना कैद, मग्नी गरेको (कुरा छिनेको) भए कुरा छिन्नेलाई पाँच सय जरिवाना तोकिएको छ।
पुरानो कानूनमा घरपरिवारको मन्जुरीमा केटीको उमेर १८ वर्ष र केटी आफैले विवाह गरेमा २१ वर्षको हुनुपर्ने उल्लेख थियो । तेलीका परिवारहरु त्यहीलाई आधार मानेको बताइरहेका थिए । विवाहमा प्रहरीले हस्तक्षेप गरेपछि तेली परिवार बडो तनावमा थिए ।