
नेपालगञ्ज – नेपालगञ्ज–१०, सिद्धार्थटोलमा दिउँसै लाखौको चोरी भएको छ ।
हिमाल गैरेको घरमा कोही नभएको मौका पारेर दिउँसो चोरी भएको हो । गैरेको घरको ढोका फोरेर १४ तोला सुन, ६ तोला चाँदी, ४५ हजार नगद र आइफोन–६ चोरी भएको छ । त्यस्तै, त्यही घरमा डेरा गरी बस्ने विदुर सुवेदीको साढे चार तोला सुन र २० हजार नगद पनि लगिएको छ ।
दिउँसो १२ देखि ३ बजेको बीचमा चोरी भएको हो । गैरेकी श्रीमती तालिममा गएको र भाडामा बस्नेहरु पसलमा गएको मौका छोपेर चोरी गरिएको थियो ।
घटनालाई हेर्दा केही दिनदेखि रेकी गरेर चोरी गरेकोजस्तो देखिन्छ । हुन त, नेपालगञ्जमा ठूल्ठूला चोरी दिउँसै भइरहेका छन् । एक हप्ताअघि मात्रै रानीतलाउ छेउमा दिउँसै ठूलो चोरी भएको थियो । अलि पहिला गणेशमापुर पनि दिउँसै लाखौंको चोरी भएको थियो ।
दिउँसोको चोरीमा ‘हाइप्रोफाइल’का चोरहरु संलग्न भएको प्रहरीको बुझाई छ । ‘कहाँ कतिबेला को बस्छ भन्ने रेकी गरेर दिउँसो चोर्ने गरिएको छ । लागु पदार्थ प्रयोगकर्ताको बिगबिगी रहेकाले उनीहरुको चोरीमा संलग्नता आशंका गरिन्छ । दिउँसोको चोरीमा लागु पदार्थ प्रयोगकर्तासँगै चोरी कर्म नै बनाएकाहरु लागि रहेको प्रहरीको निष्कर्ष रहेको छ । गैरेको घरको मूल ढोकाको ताला फोड्नुका साथै हरेक ढोका र लकरको साँचो फोरेर कुनाकाप्चा छामेर धनमाल लगिएको छ । त्यहाँ चोरी गर्दा कम्तीमा आधा घण्टाबढी लागेको हुन सक्ने प्रहरीको आकलन छ ।
दशैं, तिहारका बेला र दिउँसो चोरी गर्ने गिरोहलाई प्रहरीले अहिलेसम्म समात्न सकेको छैन । यी हाइप्रोफाइलका चोरहरु नेपालगञ्जमा चोरी गरेर सीमावर्ती भारतीय शहरमा गएर मस्ती गर्ने प्रहरीको रिपोर्ट छ ।