
स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा आफूलाई प्रस्तुत गर्दै आएको एथ्लेटिको मड्रिडले लिग अन्तर्गत आइतबार राति भएको खेलमा जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले एथ्लेटिको बिल्बाओलाई २–० ले हराएको हो ।
पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा एथ्लेटिको मड्रिडले दुवै गोल दोस्रो हाफमा गरेको हो । ६७ औँ मिनेटमा केविन गामेइरोले गोल गर्दै एथ्लेटिको मड्रिडलाई सुरुवाति अग्रता दिलाए ।
८० औँ मिनेटमा डिएगो कोस्टाले गोल गरेपछि एथ्लेटिकोले २–० को जित निश्चित ग¥यो । कोस्टाले चेल्सीबाट एथ्लेटिको फर्किएपछिको यो चौथो गोल हो । जितपछि एथ्लेटिकोले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी सातमा छोट्याएको छ ।
यसले गर्दा बार्सिलोनालाई केही दबाब बढेको छ । एथ्लेटिकोको २४ खेलबाट ५५ अंक भएको छ भने बार्सिलोनाको ६२ अंक रहेको छ । राति नै भएको खेलमा रियल सोसिडाडले लेभान्टेलाई ३–० ले हरायो भने स्पानियोल र भिल्लारियलले १–१ को बराबरी खेले ।