
जनकपुरधाम-संघीयता कार्यान्वयनसंगै अपराधमा कमी आएको प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले दावी गरेका छन्।
शुक्रवारदेखि जारी प्रदेश स्तरीय सूरक्षा सम्बन्धी गोष्ठीमा मुख्यमन्त्री राउतले तीनै तहको सरकारको समन्वयका कारण अपराधमा कमी आइरहेको बताएका छन्।
संघ, प्रदेश र स्थानिय सरकार बिच समन्वय र सहकार्यसँगै सुरक्षाकर्मीको सक्रियता बढेमा अपराधिक घटनामा थप कमी आउने मुख्यमन्त्री राउतले दावी गरे।
शनिबार जनकपुरधाममा प्रदेश स्तरीय सुरक्षा गोष्ठीको दोस्रो दिन सम्बोधन गर्दै राउतले प्रदेश दुईको सबै जिल्लाको सिमाना भारतसंग खुल्ला रहेकाले पनि सुरक्षा चुनौती रहेको बताए।
शान्ति सुरक्षाको स्थायीत्वका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह वीच समन्वय र सहकार्यको वातावरण आवश्यक रहेको उनले बताए। उनले मुलुकको शान्ति सुरक्षा नै पहिलो दायित्व रहेको भन्दै यसका लागि आ-आफ्नो स्तरबाट सबै जना लाग्नुपर्नेमा जोड दिए।
उनले प्रदेश दुईको आठै जिल्ला भारतसंगको खुला सिमानाका कारण अपराधिक घटनाहरु बढेको जस्तो देखिएपनि वास्तविकता त्यो नरहेको दावी गरे। उनले प्रदेश दुईको शान्ति सुरक्षा कायम गर्न चुनौतीपूर्ण रहेको बताउदैँ उनले भने ‘शान्ति सुरक्षा कायमका गर्नका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह तथा सुरक्षाकर्मीहरु सम्पूर्ण निकाय आफ्नो स्तरबाट अगाडी बढ्नुपर्छ।
प्रदेशमा दिनानुदिन बढदै गएको आपराधिक घटनालाई न्यूनिकरण गर्ने उदेश्यकासाथ दुई दिने प्रदेश स्तरीय सुरक्षा गोष्ठी आयोजन गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिएका छन्।
गोष्ठीमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका पृतनापति नरेशचन्द भट्ट तथा गृहमन्त्रीका सुरक्षा सल्लाहकार ईन्द्रजीत राई लगायतको सहभागिता रहेको छ।
यस गोष्ठीमा आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रहरी उपरिक्षक, सशस्त्र प्रहरी उपरिक्षक, नेपाली सेनाका अधिकारी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको सहभागिता रहेको छ।