
पोखरा-पोखरा महानगरपालिकाको सहयोगमा पोखरा १६ लामाचौरस्थित ठूलीपोखरीमा किसान बजार सञ्चालनमा आएको छ।
किसानले उत्पादन गरेका बस्तु सिधै उपभोक्ताले खरिद गर्न सक्ने गरी किसान बजार सञ्चालनमा ल्याइएको हो।
पोखरा १६ र १९ को सिमानामा पर्ने ठूलीपोखरीस्थित गौरबारीमा स्थापना गरिएको किसान बजारको बुधबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गरे।
कार्यक्रममा बोल्दै प्रमुख जिसीले किसान बजारले किसानलाई हौसला प्रदान गर्दै बिचौलियालाई निरुत्साहित गर्ने बताए।
खेतबारीमा उत्पादित कृषिजन्य वस्तु संकलन र वितरण गर्ने थलोको रुपमा विकास गर्न महानगरले किसाना बजारको योजना ल्याएको हो।
किसानले उत्पादन गरेको वस्तुलाई सिधैं उपभोक्तामाझ पुर्याउन किसान बजारले सहयोग गर्ने र बिचौलिया निरुत्साहित हुने मेयर जिसीको भनाइ छ।
बजारमा उपभोक्ताले किसानबाट सिधैं खरिद गर्दा अन्यत्र भन्दा सस्तोमा कृषिजन्य सामग्री पाउने विश्वास गरिएको छ।उक्त बजारमा विशेष गरी वडा नम्बर १६ र १९ मा व्यावसायिक रुपमा उत्पादित कृषिका वस्तुले सजिलै स्थान पाउने छन्।
पोखरा महानगरपालिका कृषि तथा पुश सेवा महाशाखाका प्रमुख मनहर कडरियाले किसान बजार निर्माणको लागि महानगरपालिकाले झन्डैं १० लाख लगानी गरेको जानकारी दिए।
किसान दुर्गा बस्नेत र जीतबहादुर बस्नेतले किसान बजार स्थापनापछि आफ्ना खेतबारीमा उत्पादित वस्तु बिक्री गर्न सहज हुने र उचित मूल्य पाउने आशा व्यक्त गरे।
महानगरपालिकाको सहयोगमा बिरौटामा कृषि बजार सञ्चालनमा आइसकेको छ। अन्य ५ ठाउँमा पनि कृषि बजार स्थापना गर्ने महानगरपालिकाको योजना छ।