जनकपुरधाम- प्रदेश २ को मुख्य न्यायाधिवक्तामा नियुक्त भएका अधिवक्ता दिपेन्द्र झाको नियुक्तिमाथि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
अधिवक्ता डिल्लीप्रसाद न्यौपानेले प्रदेशको मुख्य न्यायाधिवक्ताका लागि संविधानमा उल्लेखित प्रावधान अनुसार झाको योग्यता नपुगेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्।
न्यौपानेले अदालतमा झाको नियुक्ति बदरको आदेश माग गर्दै मंगलबार दर्ता गरेको रिटमाथि बुधबार सुनुवाई हुने भएको छ।
प्रदेश २ को प्रथम मुख्य न्यायधिवक्तामा मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले झालाई आइतबार नियुक्त गरेपछि उक्त नियुक्तिको विषयमा विवाद भएको हो।
संविधानको धारा १६० मा मुख्य न्यायाधिवक्ता नियुक्ति सम्बन्ध प्रावधान रहेको छ। धारा १६० को उपधारा ३ मा मुख्य न्यायाधीवक्ताको योग्यता सम्बन्धमा उल्लेख छ।
‘उच्च अदालतका न्यायधीश हुन सक्ने योग्य व्यक्ति मुख्य न्यायाधीवक्ताका लागि योग्य हुन सक्ने,’ संविधानमा व्यवस्था गरिएको छ।
संविधानको धारा १४० को उपधारा २ मा उच्च अदालतका न्यायाधीश सम्बन्धमा व्यवस्था गरिएको छ।
संविधानको यस धारामा उच्च अदालतको न्यायाधीश बन्न १० वर्ष निरन्तर अधिवक्ताको रुपमा काम गरेको हुनु पर्ने उल्लेख गरिएको छ।
झाले २०६८ साउन १ गते अधिवक्ताको प्रमाणपत्र लिएको भन्दै उनको नियुक्ति विवादमा परेको हो।