
जनकपुरधाम- प्रदेश सरकार र वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउने माग गर्दै आन्दोलनरत संघर्ष समितिबीच भएको वार्ता बिनानिष्कर्ष सम्पन्न भएको छ।
प्रदेश सरकार र संघर्ष समितिबीच मंगलबार वीरगंजमा भएको पहिलो वार्तामा कुनै पनि निर्णय हुन सकेको छैन।
वार्तामा प्रदेश २ का भौतिक तथा पूर्वाधारमन्त्री जितेन्द्र सोनलले आन्दोलन स्थगित गर्न आग्रह गरेको जनाइएको छ।
संघर्ष समितिसँग कुरा गर्दै राजधानी घोषणा गर्ने अधिकार प्रदेशसभाको रहेको र यस अधिकारलाई सरकारले उल्लंघन गर्न नसक्ने सोनलले बताएका थिए। तर, संघर्ष समिति आफ्नो अडानमा यथावत देखिएको छ। संघर्ष समितिको तर्फबाट वार्तामा सहभागी प्रतिनिधिहरुले वीरगञ्जलाई राजधानी बनाउने प्रस्ताव सरकारको तर्फबाट प्रदेशसभामा ल्याउने माग गरेका छन्।
संघर्ष समिति आफ्नो अडानमा यथावत रहेपछि वार्ता निष्कर्षमा नपुग्दै सम्पन्न भएको हो।
संघर्ष समितिका सहसंयोजक राजकुमार गुप्ताले सरकारी टोलीले माग पूरा नहुने भनेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको जानकारी दिएका छन्।
उनले भने, ‘सरकारी टोलीले आन्दोलनकारीहरुको माग पूरा नहुने भन्दै आन्दोलन स्थगित गर्न आग्रह गरेको छ, तर हामीले माग पूरा नभएसम्म आन्दोलन स्थगित नगर्ने जवाफ फर्काएका छौँ।’
यता मन्त्री सोनलले वार्ता सकारात्मक रहेको र संवादलाई निरन्तरता दिने सहमति भएको बताएका छन्।
प्रदेश सरकारले सोमबार पत्राचार गरी संघर्ष समितिलाई वार्तामा आउन आह्वान गरेको थियो। मुख्यमन्त्री लालबाबु राउतले संघर्ष समितिसँग वार्ता गर्ने जिम्मा मन्त्री सोनललाई दिएका थिए।