
काठमाडौं- मनोज पुनले भारतमा बसेर नेपालमा आपराधिक गतिविधिले आतंक मच्चाइरहेका बेला उच्च प्रहरी अधिकारी भन्थे, सरकारीस्तरमा पहल भएमात्र पुन पक्राउ पर्न सक्छन्।
गत असोजमा राजधानीकाे शान्तिनगरमा दिनदहाडै नेपाल निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएपछि प्रहरीले भारतमा लुकेर बसेको पुन समूहको खोजी तीव्र बनाएको थियो। देशको आन्तरिक सुरक्षालाई कडा चुनौती दिएका पुन र उनका साथीहरुलाई पक्राउ गर्नु सजिलो थिएन।
यसको नेतृत्व प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे-सीआईबीले गरेको थियो। डीआईजी पुस्कर कार्कीले सीआईबीको नेतृत्व सम्हालेपछि पुन समूहको नियन्त्रणलाई लक्ष्य बनाएर काम गरे। स्रोतका अनुसार गौचन हत्याअघि नै सीआईबीको टोली भारत पुगेको थियो। त्यसअघि कार्कीले महानगरीय अपराध महाशाखाकाे नेतृत्व गर्दा दिनेश अधिकारी चरीलाई इनकाउन्टर गरी गुन्डा नाइकेको सफाया सुरु गरेका थिए। त्यसपछि राजधानीमा गुन्डागर्दी कम भएकाे प्रहरीको दाबी छ।
गौचन हत्यामा संलग्न स्थानीय अपराधीलाई अनुसन्धान समितिले पक्राउ गरेर सार्वजनिक गरेको केही साताभित्र सीअाईबीले योजनाकारमध्येका एक समिरमानसिंह बस्नेतलाई भारतबाट पक्राउ गर्न सफल भएको थियो। समिरलाई पक्राउ गर्न सक्ने प्रहरीले पुनलाई पनि पक्राउ गर्न सक्ने संकेत त्यतिबेलै देखिएको थियो। विषेशगरी मनोज, समिर र लोप्साङ लामा एकै ठाउँमा भएकाे प्रहरीको दाबी थियो।
नेपालमा आफ्नाे समूहले गराएका घटनाको जिम्मेवारी लोप्साङले नै नेपालमा फोन गरेर लिन्थे। गौचन हत्यामा गठित अनुसन्धान समितिले मनोज पुनको संलग्नता रहेको उल्लेख गरे पनि समिर पक्राउपछि सीआईबीले गौचन हत्यामा मनोजको संलग्नता नरहेको बताएको थियो। सीअाईबीको दाबी थियो- मनाेज केही महिनाअघि नै समिर र लोप्साङ समूहबाट छुट्टिएका हुन्।
प्रहरी अधिकारीहरु पुनलाई समात्नका लागि सीआईबीले यस्ताे रणनीति बनाएको हुन सक्ने पनि बताउँछन्। प्रहरी र सरकारले समिर पक्राउ पर्नूमा सरकारीस्तरमा सहयाेग थियो थिएनबारे केही बताएन। अझ नेपाल प्रहरीले समिर नेपाली भूमिबाटै पक्राउ परेको दाबी गरेको थियो। तर स्राेतका अनुसार समिर पक्राउ पर्नुमा भारतीय प्रहरीको उच्च प्राविधिक टोलीको साथ थियो।
यसमा नेपालबाट रामेछापका तत्कालीन जिल्ला प्रमुख डीएसपी कुमुद ढुंगेलसहित सीआईबीकै केही प्रहरी अधिकारीले काम गरेका थिए। ढुंगेल रामेछापबाट रुपन्देही जिल्लामा काज सरुवा भएको केही दिन लगत्तै मंगलबार राती रुपन्देहीमा उनै मनाेज पुन र उनका सहयोगी साेम अाले मारिएका छन्।
प्रहरीकाे दाबी अनुसार इन्काउन्टरमा उनीहरु मारिएका हुन्। रुपन्देही जिल्ला प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीका अनुसार सीआईबीले दिएकाे सुचनाका अाधारमा मनोज रुपन्देहीमा रहेको थाहा पाएको र सीआईबीबाट पनि एउटा टोली आएको तथा मंगलबार राति खोजी गर्ने क्रममा दोहोरो मुठभेड हुँदा मनोज र सोम मारिएका हुन्।
सम्बन्धित समाचार
गुण्डा नाइके मनोज पुनको अपराध : एकवर्षमा तीनजनाको हत्या
मनोज मनोज संगठित हत्याका नाइके मात्र थिएनन्, नेपालकाे आन्तरिक सुरक्षाकै सबैभन्दा ठूला थ्रेट थिए
गुण्डा नाइके मनोज पुनसहित सोम आले प्रहरी इन्काउन्टरमा मारिए