काठमाडौँ- राजनीतिमा सामान्य चासो राख्ने धेरैले याद गरेका होलान्, राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर र अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवमध्ये शारीरिक हिसाबले को जेठो छन् भनेर।
स्वाभाविक हो, देख्ने बित्तिकै ठाकुरभन्दा यादव नै कम उमेरका र शाारिरीक रुपमा सक्रिय जस्ता लाग्छन्। औपचारिक कागजातमा भने ठाकुर भन्दा १० वर्ष कान्छा यादव पाँच वर्ष जेठा भएको पाइएको छ।
संघीय संसद सचिवालयले फागुन २० गते दुवै सदनका सांसदलाई शपथ गराउन जेष्ठ सदस्यको खोजी गर्दा महेन्द्र यादवको उमेर ८० वर्ष र महन्थ ठाकुरको उमेर ७५ वर्ष पाइएको हो। राजपाका एक नेताका अनुसार यादवको वास्तविक उमेर ६५ वर्ष मात्र भए पनि नागरिकता बनाउने बेला भएको त्रुटिका कारण यादवको उमेर १५ वर्षभन्दा बढी भएको हो।
संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले दुवै सदनका जेष्ठ सदस्य कोको छन् भनेर खोजी भइरहेको जानकारी दिए। उनले प्रतिनिधिसभातर्फ यादव र ठाकुर नै अरुभन्दा जेष्ठ भएको निर्वाचन आयोगले पठाएको विवरणबाट देखिएको बताए।
संविधानअनुसार दुवै सदनका जेष्ठ सदस्यले राष्ट्रपतिबाट पद तथा गोपनीयताका शपथ ग्रहण गरेपछि उसैले बाँकी सदस्यलाई शपथ गराउने व्यवस्था छ। कागजी प्रमाणका आधारमा प्रतिनिधिसभाका सबैभन्दा जेष्ठ सदस्य देखिएका यादवले वास्तविक जेष्ठ ठाकुरलाई अवसर दिन्छन् कि दिँदैनन्, चासोको विषय बनेको छ।
राष्ट्रियसभामा को जेठो ?
संसद सचिवालयका अनुसार राष्ट्रियसभामा ६९ वर्षका तारादेवी भट्ट र हरिचरण शिवाकोटी जेष्ठ सदस्यका रुपमा देखिएका छन्। भट्ट र शिवाकोटीमध्ये महिना वा दिनका आधारमा को जेष्ठ भन्ने छानबिन गर्ने काम भइरहेको सचिवालयले जनायो। संघीय संसदको अधिवेशन फागुन २१ गते आह्वान भएकाले त्यसको एक दिनअघि नै सचिवालयले शपथ ग्रहण गराउन लागेको हो।

भर्खरै
लोकप्रिय






































































































































































































