
धनगढी- नेपाल शिक्षक संघसंग आवद्ध प्रदेश नम्बर ७ का ३ सय ३४ जना शिक्षकहरु धनगढी आएका छन्। आइतबार धनगढीमा सुरु हुने संघको प्रदेश अधिवेशनमा भाग लिन उनीहरु धनगढी आएका हुन्।
नेपाल शिक्षक संघले पहिलो पटक प्रदेशस्तरीय अधिवेशन गर्न लागेको हो। मुलुक संघीय संरचनामा गएसँगै शिक्षक संघले पनि प्रदेश नम्बर ७ को प्रदेश स्तरीय अधिवेशन गर्न लागेको हो। शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाल शिक्षक संघका ७ नम्बर प्रदेश संयोजक सिद्धराज भट्टले नेपालको संबिधान अनुसार संघलाई पनि प्रादेशिक संरचनामा लैजान पहिलो पटक प्रदेश अधिवेशन गर्न लागेको जानकारी दिए।
अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले गर्ने कार्यक्रम छ।
अधिवेशनको आतिथेय गरिरहेको नेपाल शिक्षक संघ कैलालीका अध्यक्ष गणेशप्रसाद ओझाले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनले आइतबार बिहान धनगढी चौराहाबाट पञ्चेबाजा र झाँकी सहित प्रभात फेरी निकालिने समेत जानकारी दिए।
शिक्षकहरुलाई जनप्रतिनिधिले मानसिक टर्चर दिएको आरोप
यस्तै नेपाल शिक्षक संघका प्रदेश ७ संयोजक सिद्धराज भट्टले निर्वाचित जनप्रतिनिधिहरुले शिक्षकहरुलाई मानसिक टर्चर दिन सुरु गरेको आरोप लगाएका छन्। आइतबार धनगढीमा हुने नेपाल शिक्षक संघको प्रदेश अधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भट्टले यस्तो आरोप लगाएका हुन्।
‘बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वडाअध्यक्ष नै रहने व्यवस्था लागू गर्न खोजेर शिक्षकहरुलाई मानसिक रुपमा कमजोर पार्न खोजिदैँछ, हामी कदापि यस्तो हुन दिने छैनौँ,’ पत्रकार सम्मेलनमा भट्टले भने।
उनले विकास निमार्णका कामहरुमा निगरानी गर्न फुर्सद नभएका वडाअध्यक्षहरुलाई बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउन खोजेर नितिगत रुपमा शैक्षिक संस्थाहरुलाई धरासायी बनाउन खोजlएको आरोप लगाए।
‘हामीले यस बारेमा एक महिनाअघि नै तत्कालीन प्रधनमन्त्री शेरबहादुर देउवालाई भेटेर अवगत गराएका थियौँ, अहिले पनि सरकोरावालाको ध्यानाकर्षण गराईरहेका छौँ, जनप्रतिनिधिहरुलाई बिद्यालयमा ल्याएर अनावश्यक बोझ दिने काम गरिनु हुँदैन यसले बिद्यालयको शैक्षिक सुधार हुनुको साटो झनै तहसनहस हुन्छ,’ भट्टले भने।