
पोखरा-कास्की २ उपनिर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराईले यसै क्षेत्रबाट ३ पटकसम्म निर्वाचित स्व रवीन्द्र अधिकारीले थालेका कामलाई निरन्तरता दिने बताएकी छन्।
उपनिर्वाचन प्रचासप्रसारका क्रममा मंगलबार पोखरा १७ फ्रुसेखोलास्थित आयोजित कोणसभालाई सम्बोधन गर्दै भट्टराईले रवीन्द्रले थालेका कामलाई अधुरै रहन नदिने प्रतिबद्धता जनाएकी हुन्।
देश निर्माणको क्रममा जुटिरहँदा कास्की २ को एक विकासको सारथी, योद्धालाई गुमाउनु परेको सुनाउँदै भट्टराईले समृद्ध नेपालको अभियानमा अब सबै सारथी बनेर निस्किनुपर्ने आग्रह गरिन्।
‘यस क्षेत्रको तपाईहरुले हुर्काउनु भएको एउटा सारथीलाई गुमायौं,’ उनले भनिन्, ‘तर, अब हामी सबै सारथी बनेर निस्किरहेका छौं । योद्धा बनेर निस्किएका छौं। समृद्ध नेपाल निर्माणको अभियानमा सधैं जुटिरहने छौं । यो उपनिर्वाचन त्यहीँ अभियानको निरन्तरता हो।’
कोणसभामा जम्मा भएका स्थानीयबासी, दल निकटका कार्यकर्ताहरुमाझ विद्याले आफू निर्वाचनमा होमिनुको खास उद्देश्यबारे पनि प्रष्ट्याइन । उनले भनिन्, ‘मलाई भन्ने गरिन्छ विद्या तिम्रो के छ त योजना ? मैले भन्ने गर्छु। यो उपनिर्वाचन रवीन्द्र अधिकारीले ५ वर्षका लागि बनाउनु भएको योजनालाई पूरा गर्न बाँकी गरेको कामहरु गर्ने निर्वाचन हो। ५ वर्षका लागि रवीन्द्रले बनाएका योजना, घोषणा बाँकी छन् । ति सबै योजना, घोषणालाई पूरा गर्न विद्या निर्वाचनमा आएकी हुँ ।’
रवीन्द्रले बनाएका योजना र थाती रहेका कामलाई बीचमै रोकिने वा अवरुद्ध हुन नदिने भट्टराईले सार्वजनिक मञ्चबाटै बाचा गरिन्। पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम समयसीमामै सक्न सबै निकायको समन्वयमा भूमिका खेल्ने उनले बताइन्।
पोखरालाई सबै पूर्वाधारको अन्तर्राष्ट्रिय हबको रुपमा विकास गर्ने रवीन्द्रको चाहनालाई पूरा गर्न आफू लागि पर्ने उनको भनाई थियो।‘म सबैको अगाडि बाचा गर्छु। रवीन्द्रले भन्ने गरेजस्तै पोखरालाई अन्तर्राष्ट्रिय गन्तव्य बनाउने, पर्यटकीय गन्तव्य बनाउने, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने जुन बाचा गर्नु भएको थियो । कसम खानु भएको थियो । यि सबै योजना साकार पार्न तपाईहरुले साथ दिनुहुनेछ’ उनले भनिन्।
ग्रेटर पोखराको योजनामा सडक सञ्जालदेखि विविध उत्पादनमूलक स्रोत साधनको परिचालन गर्ने लक्ष्य रहेको बताउँदै भट्टराईले उक्त योजना पूरा गर्न अभियान्ताको रुपमा उभिने प्रतिबद्धता जनाइन्। उनले भनिन्,‘काठमाडौंले भोग्नु परेको दुःख पोखरालाई भोग्न नदिन हाम्रो सिंगो पार्टी सहित तिनै तहका सरकारसँगको समन्वयमा भूमिका खेल्ने छु।’ क्षेत्रको विकास निर्माणका काममा विनियोजित बजेट प्रभावकारी रुपले लागु गराउनदेखि नयाँ योजना पार्नसमेत भूमिका खेल्ने भट्टराईले मतदाताबीच आश्वास्त पारिन्।
नेकपाका जिल्ला कमिटी अध्यक्ष समेत रहेका प्रदेश सभा सांसद कृष्ण थापाले आफूले चुनाव जितेको क्षेत्रमा प्रदेश सरकारबाट पूरा गर्नुपर्ने दायित्व निर्वाह गरिरहेको सुनाए। स्थानीयका थप माग र आवश्यकता सूचि सहित पेश गर्न उनले आग्रह गरे।
वडा २१ एकहाते रामदीमा आयोजित कोण सभामा बोल्दै अध्यक्ष थापाले जनताका मागलाई सम्बोधन गर्नकै लागि कम्युनिष्ट पार्टी सरकारमा रहेको सुनाए। ‘वडा, महानगर, प्रदेश वा संघीय सरकारले कसले दायित्व लिनुपर्छ कुनैपनि विकासका काम रोकिनु हुँदैन,’ उनले भने, ‘खानेपानी, सडक लगायतका अन्य पूर्वाधार आवश्यकताका कुराहरु नेकपा सरकार छँदा नै पूरा गर्छ।’
विशेषगरी कास्की २ क्षेत्रमा पर्ने वडाहरुमध्येमा पनि १७ र २१ कम्युनिष्टहरुको बाहुल्य क्षेत्र पर्छ। गत स्थानीय र आमनिर्वाचनमा समेत उक्त वडाबाट भारी मतान्तरले कम्युनिष्ट उम्मेदवार विजयी बनेका थिए।
त्यसै आधारमा पनि अध्यक्ष थापाले विगतमा कम्युनिष्ट उम्मेदवारलाई भोट नदिएकाहरुले पनि यसपटकको उपनिर्वाचनमा विद्या भट्टराईलाई भोट दिन आग्रह गरे। ८०, ९० प्रतिशत भोट दिएर भट्टराईलाई जिताएमा विकास र समृद्धिको निरन्तरताका लागि पनि पुण्य मिल्ने तर्क गरे।
नेकपाकी उम्मेदवार भट्टराईलाई स्थानीयले फ्रुसेखोलादेखि मट्टीखान पुग्ने सडकखण्डमा रहेका स्थानीयबासीले पुष्पगुच्छाले स्वागत गरेका थिए। अधिकांश स्थानीयले भोट दिने तर बदलामा जनताका न्यूनतम आधारभूत आवश्यकताका पूर्वाधार निर्माणमा चासो दिन आग्रह गरेका थिए।