
पोखरा – सांसदको भूमिका के हुनुपर्छ ? आचरण कस्तो ? राजनीतिक एवं सार्वजनिक जीवनमा प्रवेश गरिसकेपछिको उत्तरदायित्व र उनीहरुले निर्वाह गर्नुपर्ने भूमिका कस्तो ? अझ संसदीय व्यवस्थामा सांसदले प्रस्ताव गरेका विचारबाट निर्देशित नीति निर्माणमा कत्तिको सन्तुलनता र जनमैत्री हुनुपर्छ ? देश विकास गाँठो कहाँ फुकेन ?
यस्तै धारणा बुझ्ने सन्दर्भमा आगामी मंसिर १४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि चुनावी रिङमा उत्रिएका कास्की २ का ४ जना उम्मेदवारलाई एउटै मञ्चमा उभ्याइयो।
नेपाल पत्रकार महासंघको आयोजनामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई, नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेल, समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङ र साझा पार्टीकी उम्मेदवार रजनी केसी प्रस्तुत भए।
सञ्चारकर्मी दिलभूषण पाठक र उपस्थित विभिन्न संघसंस्थाका लब्धप्रतिष्ठित व्यक्तिहरु सहित केही संख्यामा उपस्थित कास्की २ का मतदाताको बेजोड प्रश्नले उम्मेदवारलाई सकस बनायो।
संवादमा उम्मेदवारहरुले आफूलाई सक्षम दाबी गर्न कुनै कसर बाँकी राखेनन्। सत्तारुढ दलका उम्मेदवार र प्रमुख प्रतिपक्षी दलका उम्मेदवार केही जवाफदेही परिस्थितिमूलक रुपमा बन्नु पर्यो ।
दाबी आ-आफ्नै
संवादकै सुरुवातमै नेकपाकी उम्मेदवार विद्या भट्टराईले आफ्नो राजनीतिक जीवनको प्रारम्भ र पति गुमाउनु परेको दुःखद् घटनाबाट भोग्नु परेको असह्य पीडाबाट गुज्रिदै उनकै योजना सार्थक बनाउने अभियानमा होमिनु परेको सुनाइन्। उनले मुलुकमा समावेशीताको मुद्दालाई संस्थागत गर्न समेत आफ्नो उम्मेदवारी रहेको दाबी गरिन्।
अर्का प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले ‘देशमा व्याप्त भ्रष्टाचार, कुशासन र अधिनायकवादी तर्फ उन्मुख सरकारको विरुद्धमा आफ्नो उम्मेदवारी’ रहेको बताए। सँगै ग्रामीण स्तरका वडाहरु जुन महानगरका गाभिए त्यस क्षेत्रको स्तरोन्नति गर्न समेत आफू सक्षम उम्मेदवार रहेको अर्थ्याए।
समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङले नेपालको समग्र प्रणाली व्यवस्थापन र भ्रष्टाचार अन्त्य गर्न आफूलाई पार्टीले उम्मेदवार बनाएको बताए। प्रशस्त समस्याहरुको समाधान र निवारणका लागि आफ्नो दाबेदारी प्रस्तुत गरेको उनले सुनाए।
वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाएको साझा पार्टीकी उम्मेदवार रजनी केसीले अनेकौं व्यवस्था परिवर्तन भएपनि मुलुकको उन्नती हुन नसकिरहेको सन्दर्भमा नयाँ व्यवस्थापनका साथ अघि बढ्न आफ्नो उम्मेदवारी रहेको बताइन्। भ्रष्टाचारमुक्त समाज निर्माणको बाटोले मात्रै समृद्धि हासिल गर्न सकिने भन्दै त्यसको अभियन्ताको रुपमा आफू आएको दाबी गरिन्।
सांसदको आचरण कस्तो ?
चुनावी रेसमा प्रथम हुने संसदको यात्रा गर्नेले आफूलाई कस्तो रुपमा प्रस्तुत गर्नुपर्छ। सांसदको अस्वभाविक आचरणले समाजमा कस्तो किसिमको प्रभाव पार्दछ भन्ने कुरा ४ उम्मेदवारसँग खोतल्ने क्रममा सहभागि उम्मेदवारले आफ्ना विचारलाई पृथक बनाउने प्रयास गरे।
नेकपाकी उम्मेदवार विद्या भट्टराईले भनिन्, ‘संविधान नीति र नियममा रहेर सांसदले आचरण गर्नुपर्छ। संवैधानिक व्याख्या छ। हाम्रा स्टान्डर्डहरुलाई आधार गर्छ। केही कमजोरीहरु छन्।’ उनले आफू सांसदको भूमिकामा पनि संविधान कानुनलाई नमिच्ने प्रतिबद्धता जाहेर गरिन्।
कांग्रेस उम्मेदवार खेमराज पौडेलले जनप्रतिनिधिले जनताकासामु राखेका विश्वासलाई भुल्न नहुने बताए। ‘प्रायः जनप्रतिनिधिले विश्वासको मत भुलेर गएको हुनाले नेपालमा राजनीतिक पार्टीप्रति वितृष्णा जागेको छ,’ उनले भने, ‘घरदैलौमा जाँदा हामीलाई जनताले किन विश्वास राखेर मात्र जानुहुन्छ। पछि बिर्सनुहुन्छ भन्ने गुनासा छन्। घोषणापत्र झुटको पुलिन्दा बन्नु हुन्न।’
कार्यक्रम सेट अनुसार निर्धारित १ मिनेट समयमै सवालको जवाफ टुंग्याउने समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङले आफ्ना विचारलाई संक्षितमा सुनाए। सांसद इमान्दार र स्वच्छ छविको हुनुपर्ने उनले बताए। जनताको विश्वासको मतको कदर सदैव गर्न सके मात्रै सांसदको गरिमा कायम रहने गुरुङको भनाई थियो।
साझाकी उम्मेदवार रजनी केसीले सांसद शासक होइन सेवक बन्नुपर्ने बताइन्। आडम्बरीपनले सांसदको गरिमा नरहने उनले सुनाइन्।
मञ्चमा रहेका उम्मेदवारलाई सहभागि दर्शकले समेत प्रश्नको झटारो फाले। पहिलो प्रश्नकर्ता कृष्ण घिमिरेको प्रश्नले विशेषगरी सत्तारुढ दलकी उम्मेदवार भट्टराई र प्रमुख प्रतिपक्षी दलका उम्मेदवार पौडललाई निशाना गर्यो।
सार्वजनिक जग्गाको हिनामिना र राजनीतिक आस्थाकै आधारमा सार्वजनिक सम्पत्तिको मोलमोलाईमा जनता उत्रिनुपर्ने अवस्थाको अन्त्य कहिले हुने ? भन्ने सवाल उनले गरे। नेकपाकी उम्मेदवार भट्टराईले केही सैद्धान्तिक जवाफ दिइन्।
कार्यसम्पादनका क्रममा न्यायपालिकाले गरेका आदेशहरुको पालना कार्यपालिकाले गर्नुपर्नेमा सबै दृढ हुनुपर्ने उनले सुनाइन्। कांग्रेस उम्मेदवार पौडेलले प्रष्ट भाषामै सार्वजनिक जग्गाको दुरुपयोग रोकिनुपर्ने र दोषीलाई दण्डित गर्नुपर्ने औल्याए।
जवाफकै क्रममा कानुन बनाउने सांसदहरु सार्वजनिक जग्गा आफ्नो बनाउनेतर्फ लाग्नु दुःखद् रहेको समाजवादीका उम्मेदवार गुरुङले बताए। उनले भने, ‘कानुन बनाउने काम सांसदको हो। सार्वजनिक जग्गा आफ्नो बनाउने होइन। जेलमा को छ छुटाउने होइन। सांसदहरुलाई उनीहरुको जिम्मेवारी लेखेर दिनुपर्ने बिडम्बना हो।’
साझाकी उम्मेदवार केसीले आफ्नो पार्टीको सैद्धान्तिक धारणा प्रस्तुत गर्दै सार्वजनिक पद धारण गर्ने व्यक्तिहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताइन्।
विकासको बाधक भ्रष्टाचार
विकासको प्रमुख बाधक भ्रष्टाचार रहेको सहभागि उम्मेदवारले औल्याए। तर भइरहेको भ्रष्टाचार निवारणमा राजनीतिक दलको भूमिका, सरकारको कार्यप्रणालीका खोटलाई सुक्ष्मले रुपले समाधान गर्न लाग्नुपर्ने उम्मेदवारहरुको साझा धारणा बन्यो। नेकपाकी उम्मेदवार भट्टराईले पूर्वाधार विकासमा भएका चरम भ्रष्टाचार रोक्नुपर्ने बताइन्। र आफू सांसदको भूमिका पनि त्यस्ता कार्यहरुको विरोध गरिरहने प्रतिबद्धता जनाइन्।
कांग्रेस उम्मेदवार पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक परिपाटी नै स्वच्छ हुनुपर्ने बताए। ‘आफ्नो विकासको लागि पदको प्रयोग गर्ने परिपार्टी बढेर गएको छ। मुहान नै सङ्लो हुनुपर्छ। राजनीति स्वच्छ हुनुपर्छ।’
सिस्टम नभएर भ्रष्टाचार मौलाएको समाजवादी पार्टीका उम्मेदवार गुरुङले तर्क गरे। ‘अकुत सम्पत्ति कमाउने माथि छानबिन गर्नुपर्छ। त्यस्तो सम्पत्ति राष्ट्रियकरण गरी विकासमा लगानी गर्नुपर्छ।’
समाजवादीकै लाइनमा साझाकी उम्मेदवार केसीले आफू र आफ्नो पार्टी भ्रष्टाचार विरुद्धको अभियानमा रहेको बताइन्। उनले ०४७ यता सार्वजनिक पदमा पुगेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्नुपर्ने मुद्दा साझाले निरन्तर उठाइरहने बताइन् र सबै दललाई आग्रह पनि गरिन्।
छलफलमा उम्मेदवारले आफ्ना एजेन्डा र चुनावपछिका विकासका योजनालाई कसरी अघि बढाउने भन्नेबारे प्रस्तुति दिएका थिए। सहभागि दर्शकले विभन्न दलले पटकपटकको सत्ता उतारचढावका क्रममा गरेका विवादास्पद कमजोरीबारे समेत प्रश्न राखेका थिए।