
धनगढी– धनगढी विमानस्थल आइतबारदेखि एक महिनासम्म आशिंक रुपमा मात्रै सञ्चालन हुने भएको छ।
विमानस्थलले निर्धारण गरेको कार्यतालिका अनुसार आइतबारदेखि दिउँसो तीन बजेपछि हुने सम्पूर्ण उडान एक महिनासम्म बन्द हुनेछन्। विमानस्थलको धावनमार्ग मर्मत तथा स्तरबृद्धिको कामलाई निरन्तरता दिन एक महिना विमानस्थलमा आंशिक उडान थालिएको बताइएको छ।
धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाका अनुसार आइतबारदेखि दिउँसो तीनदेखि ७ बजेसम्म एक महिना विमानस्थल बन्द रहने जानकारी दिए। बुढथापाका अनुसार गत जेठमा १८ सय मिटरमध्ये चार सय २० मिटर धावन कालोपत्रे गर्ने काम तथा पार्किङ क्षेत्रमा काम बाँकी रहेको हुँदा सो कार्यलाई पूरा गर्न विमानस्थल आंशिक रुपमा बन्दगर्नु परेको विमानस्थल प्रमुख बुढथापाले बताए।
यसअघि जेठमा एक महिना विमानस्थल बन्द गर्दै धावनमार्गको मर्मत र पार्किङ क्षेत्र विस्तारको काम गरिएको थियो तर त्यतिबेला पुरै काम सम्पन्न नभएको भन्दै अहिले आंशिक रुपमा विमानस्थल बन्द गर्न लागिएको हो।
विमानस्थल आंशिक बन्द हुँदा दिउँसो तीन बजेदेखि ७ बजेसम्म हुने उडान अन्य समयमा गर्न विमानस्थलले विमान कम्पनीलाई आग्रह गरेको छ। श्री एयरलाइन्स धनगढीका स्टेशन इन्चार्ज गजेन्द्र शाहीले विमानस्थल बन्द हुने अवधिमा यसअघि धनगढीबाट काठमाडौँका लागि ३:२५ मा भर्ने दोस्रो उडानको तालिका पनि हेरफेर गरिएको जानकारी दिए।
शाहीले विमानस्थल बन्द हुने अवधिसम्मका लागि ३ः२५ मा हुने उडान दिउँसो एक बजे गर्ने तालिका बनाइएको बताए। एयरलाइन्सले यसअघि बिहान ९ः१५ मा भर्दै आएको उडान भने सोही समयमा हुनेछ।
बुद्ध एयरले भने एक महिनाको अवधिमा उडान नभर्ने जनाएको छ। बुद्ध एयर धनगढीका प्रमुख बुद्धराम माझीले सो अवधिमा बिहानको उडान मात्र हुने बताए। उनले विमानस्थल मर्मत सम्भारमा ढिलाई भए अर्को विकल्प खोजिने बताए।
नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग छ। झण्डै २२ करोडको लागतमा धावनमार्गमा थप कालोपत्रे गरिने छ भने दुवैतर्फ २/२ मिटर धावनमार्ग फराकिलो बनाउने योजना रहेको छ।
अहिले तीन वटा जहाज पार्किङको व्यवस्था रहेकोमा अब थप एक जहाज पार्किङ गर्न सक्नेगरी पार्किङ क्षेत्र विस्तार योजना रहेको विमानस्थलले जनाएको छ।