
पोखरा – १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आर्चरी खेलमा पाकिस्तान अन्तिम समयमा आएर सहभागि नहुने भएको छ।
मंगलबारसम्म आर्चरीमा सहभागि हुने जनाएको पाकिस्तानले अन्तिम समयमा आएर आफ्नो आन्तरिक कारण देखाउँदै आर्चरी खेलमा सहभागि नहुने भएको नेपाल आर्चरी संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष वसन्त थकालीले जानकारी दिए।
उनका अनुसार नेपालसहित भुटान, श्रीलंका र बंगलादेश आर्चरी प्रतियोगितामा सहभागि हुने भएका छन्। भुटानका ९ जना खेलाडीहरु प्रतियोगितामा सहभागि हुँदैछन् भने अन्य तीन देशका १६/१६ जना खेलाडीहरु सहभागि हुने भएका हुन्।
प्रतियोगिता बिहीबार बिहान करिब ८ः१५ बजे उद्घाटन पश्चात र्याङकिङ राउन्ड सुरु हुने भएको उपाध्यक्ष थकालीले बताए। टिम रिकर्भ (७० मिटर) महिला पुरुष, एकल रिकर्भ, महिला तथा पुरुष र मिक्स रिकर्भ गरी ५ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुने भएको छ।
त्यसैगरी कम्पाउण्ड (५० मिटर) महिला तथा पुरुष, कम्पाउण्ड एकल महिला तथा पुरुष र मिक्सतर्फ गरेर ५ स्वर्ण गरी जम्मा १० स्वर्ण पदकका लागि ५७ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका हुन्।
प्रतियोगितामा सहभागी खेलाडीहरुको विश्व आर्चरी महासंघले र्याङकिङ गर्नेछ। विश्व आर्चरी महासंघबाट प्रतिवन्ध (सस्पेन्स) भएको भारत १३ औँ सागमा सहभागी नहुने भएको छ। अन्तिम समयमा आएर दबाबका बाबजुत दर्ता भएको भारतको आर्चरीको टिमलाई सागमा सहभागि हुन नदिने साउथ एसियन ओलम्पिक काउन्सिलको बैठकले उक्त निर्णय गरेको थियाे।
राखेपसँग आर्चरी प्रशिक्षण मैदानको लागि रकम माग गर्दासमेत नदिएकोले हाल प्रशिक्षण मैदानको अभावमा खेल स्थलबाटै प्रशिक्षण हुने प्रबन्ध गरेको आर्चरी संघका अध्यक्ष दीपक गुरुङले बताए।
पोखराको क्रिकेट मैदानमा आर्चरीको प्रशिक्षण हुने तयारी गरिरहेको अवस्थामा महिला क्रिकेट भएसँगै आर्चरीलाई प्रशिक्षणको लागि ठाउँ अभाव भएको थियो।
आर्चरी मंसिर २३ गतेसम्म जारी रहनेछ। खेलाडी योगेन्द्र शेरचनका अनुसार २२ र २३ गते पदकको लागि फाइनल खेल हुन्छ भने अन्य दिनमा विभिन्न चरणमा प्रतिस्पर्धा हुने भएको छ। सहभागि देशका खेलाडीहरुले बुधबार प्रतियोगितास्थलमा पुगेर प्रशिक्षण गरेका थिए।