
सप्तरी-बलिउडका चर्चित गायक उदितनारायण झा आफू जन्मिएको गाउँ सप्तरीको भारदह आइपुगेका छन्। २० वर्षपछि उनी आफ्नो जन्मथलो सम्झिदै जन्मथलो भारहद कंकालनी नगरपालिकामा अवस्थित घरमा आएका हुन्।
जन्मथलोमा उदित हप्ता दिनसम्म बसेर पुन: मुम्बइ फर्कनेछन्। यसअघि आफू भारतीय भएको विवादित अभिव्यक्ति दिएर चर्चामा आएका उनले जेठी पत्नी रञ्जनासँग भेटघाटको लागि आएका हुन्।
उनले सञ्चारकर्मीसँग संक्षिप्तमा कुरा गर्दै जेठी पत्नीसँग मेलमिलाप भइसकेकाले आफू जन्मथलो आएको बताएका छन्। काठमाडौंमा करियर बनाएर दीपा झासँग दोस्रो विवाह गरेका झाले गायन मुख्य पेशा बनाउँदै भारतमा बस्दै आएका छन्। उनका दाजुभाई भने गाउँ भारदहमै बसोबास गर्दै आएका छन्।
उनले भनेका छन्, ‘ मेरो भेटघाट विशुद्ध पारिवारिक हो। यसकारण जन्मथलो आएको हुँ। यहाँ साथीभाईसँग पनि भेटघाट गर्नेछु र फेरि फर्किनेछु।’ भारदहमा जेठी श्रमतीलाई नयाँ घर बनाइदिने बताएका छन्।
उदितलाई भेट्न बाल्यकालका साथीभाई
बाल्यकालका साथीभाईले चर्चित गायक उदित आएको खबर थाहा पाएपछि उनलाई भेट्न साथीभाई उनको घरमै आइपुगेका छन्।
यस्तै उनलाई हेर्न अन्यगाउँबाट पनि साथीभाई आएका छन्। घर आइपुगेका उदितले कंकालिनी मन्दिरमा पूजाआजा समेत गरेका छन्। उनीसँग सेल्फी लिन सर्वासाधरणको भीड नै लागेको थियो।