
पोखरा – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिच भलिबल प्रतियोगितामा शनिबार नेपालको टिमले मिश्रित परिणाम ल्याएको छ।
पोखराको लेकसाइड बाराही मैदानमा भएको खेलमा पुरुष टिमले एक जित र ३ हार ब्यहोरे।
नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले माल्दिभ्सका अब्दुल्ला जायन र अहमद मोहम्मदको जोडीमाथि २१–१६ र २१–१७ को जित निकाल्यो।
मानबहादुर र दिलको जोडीले अर्को खेलमा पाकिस्तानका मोहम्मद रज्जाक र वसीन मोहम्मदको जोडीसँग २१–१९, १५–२१ र १०–१५ को सेटमा पराजय ब्यहोर्यो।
माल्दिभ्सको एडम नसीम र मोहम्मद अलिको जोडीसँग नेपालका राजु विक र सन्जु शाहको जोडी १९–२१, २१–१८ र १५–८ को प्रतिस्पर्धात्मक सेटमा पराजित हुन पुग्यो। श्रीलंकाको इन्डिका टिरोन र जयन सनुजाको जोडीले राजु र सन्जुको जोडीलाई २१–१५ र २१–१० को सेटमा पाखा लगायो।
शनिबार नै भएकाे खेलमा पाकिस्तानका जस्नव खान र अफाख खानको जोडी श्रीलंकाका इन्डिका टिरोन र जयन सनुजाको जोडीस“ग १५–२१ र १४–२१ को सेटमा पराजित भयो। श्रीलंकाका प्रदीप असंका र असेन कुमाराको जोडीले पाकिस्तानका मोहम्मद रज्जाक र वसीन मोहम्मदको जोडीमाथि २१–१६, १६–२१ र २१–९ को रोचक सेटमा जित हात पार्यो।
पाकिस्तानका जस्नव खान र अफाख खानको जोडीले माल्दिभ्सको एडम नसीम र मोहम्मद अलिको जोडीलाई १५–२१, २१–१८ र १८–१६ को प्रतिस्पर्धात्मक सेटमा हरायो। माल्दिभ्सका अब्दुल्ला जायन र अहमद मोहम्मदको जोडी श्रीलंकाका प्रदीप असंका र असेन कुमाराको जोडीस“ग १३–२१ र १६–२१ ले स्तब्ध भयो।
लिग चरणको खेलमा हालसम्म पुरुषतर्फ समूह ‘ए’ मा श्रीलंकाका इन्डिका टिरोन र जयन सनुजाको जोडी ८ अंकसहित शीर्ष स्थानमा छ। पाकिस्तानको जस्नव खान र अफाख खानको जोडी ७ अंकसहित दोस्रो र मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी ६ अंकसहित तेस्रो स्थानमा छन्।
समूह ‘बी’तर्फ श्रीलंकाकै प्रदीप असंका र असेन कुमाराको जोडीले ८ अंकसहित शीर्ष स्थान ओगटेको छ। पाकिस्तानका मोहम्मद रज्जाक र वसीन मोहम्मदको जोडी ६ अंकसहित दोस्रो स्थानमा छ। नेपालको राजु विक र सन्जु शाहको जोडी ५ अंकसहित चौंथो स्थानमा छ। माल्दिभ्स र बंगलादेशका टिम दुबै समूहको अंक तालिकामा क्रमशः चौंथो र पाँचौं स्थानमा छन्।
महिलातर्फ शनिबार पनि दुई खेल मात्रै भए। पहिलो खेलमा श्रीलंकाका दीपिका जेडेरा र मधुशानी वीरासिंगेको जोडीले माल्दिभ्सका रसिदा अमिनाथ र साफ्ना इब्राहिमको जोडीलाई २१–८ र २१–१० को सहज जित निकाल्यो। दोस्रो खेलमा श्रीलंकाकै लक्षिनी थारुका र दिनेशा प्रसादनीको जोडीले जेनिया मोसा फातिमाथ र रुदाइना अमिनाथको जोडीलाई २१–१२ र २१–५ को सेटमा पाखा लगायो।
तीन देशमात्रै सहभागी महिलातर्फ समूह ‘ए’ र ‘बी’ दुबैमा श्रीलंकाका टिम शीर्ष स्थानमा छन्। नेपालका विनिता बुढाथोकी र नेविका चौधरीको जोडी समूह ‘ए’ र कोपिला उप्रेती र मनीषा चौधरीको जोडी समूह ‘बी’ मा दोस्रो स्थानमा छन्।