
अ
+
अ
अ
-
जनकपुरधाम- मिथिला नाट्यकला परिषदले आयोजना गरेको होरी महोत्सवको पहिलो दिन बुधबार होरैया गायन प्रतियोगिता भएको छ।
मिनापद्वारा आयोजित दुईदिने कार्यक्रम होरी महोत्सवमा पहिलो दिन सम्पन्न प्रतियोगितामा सप्तरीको खर्साल युवा होरी समुहले प्रथम पुरस्कार प्राप्त गर्न सफल भएको छ।
त्यस्तै, प्रतियोतिामा द्वितीय पुरस्कार सिंहासनी र तृतीय पुरस्कार महिलाहरुको होरैया समुह कुर्थाले प्राप्त गर्न सफल भएको हो।
प्रतियोगितामा ३ वटा समूहले सहभागिता जनाएको थियो। महिला होरैया समुहलाई जनकपुर उपमहानगरपालिकाले प्रोत्साहन स्वरुप ५ हजार १ सय रुपैया प्रदान समेत गरेको थियो।
प्रतियोगितामा विभिन्न ठाउँबाट सहभागी भएका मण्डलीहरुले होलीको गीत गाएर मनोरञ्जन गराए।
प्रतियोगिताको निर्णायक मण्डलीमा कामेश्वर मल्लिक, साहित्यकार, पत्रकार एवं गीतकार अशोक दत्त र साहित्यकार पत्रकार हिमांशु चौधरी थिए भने उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह पनि उपस्थित थिए।
उपमहानगरपालिकाका प्रमुख साहले जनकपुर मिनापले जनकपुरलाई गौरवान्वित बनाउँदै आएको प्रतिक्रिया दिए। मिनापले जनकपुरधामको प्रतिष्ठामा बृद्धि गर्दै आएको उनले बताए।
प्रदेशसभा सदस्य परमेश्वर साहले मैथिली भाषाको संरक्षण सम्बद्र्धन प्रदेशसभाबाट हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मिथिला नाट्य कला परिषदले प्रत्येक बर्ष आयोजना गर्दै आएको महामुर्ख सम्मेलन विहीवार हुने भएको छ। होली पर्वमा जनकपुरको प्रमुख आकर्षण मध्ये महामुर्ख सम्मेलन एक हो। विहीवार दिउँसो हुने कार्यक्रममा महामुर्खको उपाधिका लागि आधा दर्जनभन्दा बढी व्यक्तिको छानिएको र अहिले त्यसमाथि विचार भइरहेको मिनापले जनाएको छ।
उनीहरुमध्ये कुनै एक जनालाई महामुर्खको उपाधि प्रदान गरिने मिनापका अध्यक्ष परमेश झाले जानकारी दिएका छन्।
स्रोतका अनुसार माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादव, चर्चित उद्योगपति उपेन्द्र महतो, नेपाली कांग्रेसका नेता प्रदीप गिरीमध्ये एकजनालाई महामुर्खको उपाधि प्रदान गरिने सम्भावना प्रबल छ।
१३ बर्षदेखि हुँदै आएको महामुर्ख सम्मेलन
जनकपुरमा २०६१ सालबाटबाट लगातार महामूर्ख सम्मेलन हुँदै आएको छ। विगत १३ बर्षदेखि हुँदै आएको महामुर्ख सम्मेलनमा २०६१ सालको महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुरले पाएका थिए।
यस्तै, २०६२ मा एमाले नेता शीतल झा, २०६३मा जनकपुर नगरपालिकाका तत्कालीन मेयर हरि बहादुर बिसी, २०६४मा सद्भावना नेता ओमकुमार झा, २०६५ मा बरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, २०६६मा पूर्व मन्त्री एवं नयाँ शक्तिका नेता रामचन्द्र झा, २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडि़ भ्रमर, २०६९ मा नेपाली काँग्रेस धनुषाका सभापति रामसरोज यादव, २०७०मा तमलोपाका नेता एवं सांसद डा. विजय कुमार सिंह, २०७१ मा एमाले नेता एवं सांसद शत्रुघ्न महतो र २०७२मा श्मसान घाटलाई स्वर्गद्वारा बनाएर चर्चा कमाएका पवन सिंघानियालाई महामुर्खको उपाधि प्रदान गरिएको थियो।
गत बर्ष सप्तरीको मलेठमा भएको घटनाका कारण अन्तिम समयमा कार्यक्रम स्थगित गरिएको थियो।
