काठमाडौँ- मोक्षदा एकादशी तथा गीताजयन्तीका अवसरमा राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले पशुपतिनाथ सबैको आस्थाको आध्यात्मिक केन्द्र भएको उल्लेख गर्दै यसमा आँच आउने कुनै पनि गतिविधि सरकारलाई सह्य नहुने बताएका छन्।
श्रीगीताज्ञान प्रचार सेवा समितिले पशुपतिनाथ परिसरमा आयोजना गरेको कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष नरोत्तमदास बैद्यले पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाबिपरीत बाहिरका मूर्ति स्थापना गर्ने काममा बोर्डकै सदस्यहरु रहेको र यो सह्य नहुने बताएका छन्।
उनले कार्यक्रमका क्रममा भने, ‘मैले पुरीप्रति अनास्था व्यक्त गरेको होइन। तर नियमविपरीतका गतिविधि स्वीकार गर्न सकिँदैन।’
कार्यक्रममा उपस्थित पर्यटनमन्त्री भट्टराई जो पशुपति क्षेत्र विकास कोषका पदेन अध्यक्ष पनि हुन्, तर्फ संकेत गर्दै वैद्यले भने, ‘अध्यक्ष आलंकारिक हो कि कार्यकारी? पशुपति क्षेत्र विकास कोषमा यत्रो कोकोहोलो मच्चिँदा पनि टुलुटुलु हेरेर बस्ने?’
वैद्यले कार्यक्रममा उपस्थित भारतीय राजदूत मञ्जीवसिंह पुरीतर्फ संकेत गर्दै भने, ‘भारतले धर्मशाला बनाइदियो, यहाँ थ्री स्टार होटल चलाउनकै लागि हो?’
जवाफमा राजदूत पुरीले भारतले धर्मशाला जिम्मा लगाइसकेपछि यहाँ के के हुँदैछ, त्यो सबै हेरेर बस्न नसक्ने पनि बताए।
वैद्यले राजदूत पुरीको जवाफपछि व्यंग्य गर्दै भने, ‘कुटनीतिज्ञहरुले झापड हान्दा आवाज आउँदैन।’

तस्बिरहरु: रविन आचार्य
कार्यक्रममा संस्कृतिका ज्ञाता वासुदेवकृष्ण शास्त्रीले प्राचीन स्मारक ऐन विपरीतका गतिविधि सह्य नहुने बताए। ‘धर्म, राजनीति र विज्ञानलाई एकसाथ नबुझ्दा र समग्र हिसाबले अघि नबढ्दा समाज खण्डित हुन्छ, भाँडिन्छ, यी सबै एकअर्काका पूरक हुन्। यसलाई हामीले बुझ्नुपर्छ, यसमै हाम्रो भलो छ।’
उनले ‘हामीले आध्यात्मिक पर्यटनलाई प्रबर्द्धन गर्नुपर्छ र त्यसलाई प्रामाणिक रुपले अघि बढाउनुपर्छ’ भन्दै पशुपतिको मर्यादालाई जोगाउनुपर्ने बताए।
राजदूत पुरीले पशुपतिको गुरुयोजनामा सघाउन तयार रहेको बताए। ‘यहाँ के सघाउनुपर्ने हो, हामी सघाउन तयार छौँ,’ उनले भने।