सिमकोट- हुम्लामा स्थानीयकोहरुको मुख्य आम्दानीको श्रोत नै ‘जटामसी’ जडिबुटी बनेको छ। सिंगो गाउँकै आम्दानीको मुख्य श्रोतका रुपमा हेरिएको जटामासीबाट गाउँलेले वार्षिक दुई करोड कमाउने गरेका छन्।
खार्पुनाथ गाउँपालिका वडा-२ थालीका स्थानीय जय बहादुर रावलले यहाँको बासीको अन्य आम्दानीको श्रोत नभएकाले यसैलाई संकलन गरेर विक्री वितरण गर्दै आएको बताए।
उनले भने, ‘ हाम्रो अर्को आम्दानीको स्रोत भनेकै जटामसी हो। अरु त यहाँ छदैछैन। हामीले यसैलाई संकलन गरेर विक्री गर्छौ र आम्दानीको रुपमा भित्र्याउँछौ।’
उनले यसपाली १७ क्विन्टल जटामासी संकलन गरेर बिक्री गरेर पाँच लाख ९५ हजार रुपियाँ कमाइ गरिसकेका छन्। उनले भने, ‘काँचो जटामासी त्यो भन्दा बढी भए पनि सुकाएर बोरामा प्याक गरिएको जटामासीबाट राम्रो कमाइ हुन्छ। हामीले दुई महिना लगाएर यो जडिबुटी संकलन गर्छौ। सुकाउँछौ अनि बेच्छौ।’
यता, सोही गाउँका अर्का स्थानीय प्रवल रोकायाले पनि २२ क्वीन्टल जटामासी संकलन गेरेका छन् यसपाली। अन्नपात राम्रो उत्पादन हुने सो गाउँमा स्थानीयको आम्दानीको अर्को मुख्य श्रोत जडिबुटी भएको र तीन वर्षपछि स्थानीयको कमाई राम्रो भएको उनले बताए।
उनले भने, ‘यसअघि पुर्जीको समस्याका कारण जटामासी संकलन कार्य रोकिएको थियो।यसपाली डिभिजन वन कार्यालयले इआईए गरेपछि जटामासी निकासी परिमाण बढ्न थालेको छ। व्यापारीहरुसँगको समन्वयमा स्थानीयले ठूलो परिमाणमा जटामासी संकलन गरेर कमाई राम्रो गरेका छौ।’ एक घरबाट दुईदेखि सात जनासम्म जटामासी संकलन गर्न जाने गरेका छन्।
करीब १७७ घरधुरीका एक हजार तीन सय जनताहरु यसबाट प्रत्यक्ष रुपमा लावान्भित भएका छन्। एउटा घरबाट कम्तीमा पचास हजार रुपियाँ आम्दानी हुने गरेको छ। अरु वर्ष जटामासी संकलनको काम रोकिदा कमाइ बन्द भएर निराश भएका उनीहरुको यसवर्ष भने खुसी भएका छन्।
यसपाली थाली गाउँले मात्र चार सयभन्दा बढी क्विन्टल जटामासी संकलन गर्न सफल भएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































