
पोखरा – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–२० क्रिकेटमा विराटनगर टाइटन्सले जित हासिल गरेको छ।
बुधबार सम्पन्न दोस्रो खेलमा साविक विजेता पोखरा पल्टनलाई ४५ रनले पराजित गर्दै विराटनगरले प्रतियोगितामा आफ्नो जित दर्ता गराएको हो।
टस जितेर फिल्डिङ रोजेको पोखराले विराटनगरले दिएको १ सय ४६ रनको लक्ष्य पुरा गर्न सकेन। अन्तिम ओभरमा अलआउट हुँदै पोखरा एक सय रनमा समेटियो। अन्तिम ओभरको पाँचौं बलमा किशोर महतोले ललित राजवंशीलाई आउट गराए।
पोखराका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले १३ बलमा २४ रन बनाए। उनले एक चौका र तिन छक्का प्रहार गरे। भुर्तेललाई चौथों ओभरको दोस्रो बलमा जितेन्द्र मुखियाले आउट गराएका थिए।
उनलाई रिप्लेस गर्दै रविइन्दर सिंह क्रिजमा आए तर चम्कन सकेनन्। मुखियाले नै रविइन्दरलाई सोही ओभरमा शून्य रनमै सीमित गराई पेभेलियन फर्काए।
पोखराका लागि आशिफ शेखले २२ बलमा १३ रन जोडेर आउट भए। उनी साहब आलमको बलमा क्लिन बोल्ड भए।
बाह्रौँ ओभरको पाँचौं बलमा ब्याटिङमा उत्रिएका कप्तान शरद भेषवाकरले समेत खेललाई चम्काउन सकेनन्। ४ बलमै शून्य रनमा सीमित गराई मोहम्मद जैद आलमले आउट गराए। त्यस्तै कुशल मल्लले समेत व्यक्तिगत खाता खोल्न सकेनन्।
रोहितकुमार पौडेलले ३८ बलमा ३२ रन बनाए। उनले ३ चौका र १ छक्का हिर्काए। पौडेललाई मोहम्मद जैद आलमले साहब आलमको हातबाट क्याचआउट गराएका थिए।
पोखराका लागि रसिद खान ८, बिनोद भण्डारी ४, प्रथामेश डाके ३ रन बनाएर आउट भए। प्रथामेश र रसिदलाई किशोर महतोले अठारौं ओभरमा आउट गराए।
विराटनगरका लागि सर्वाधिक किशोर महतोले ३ विकेट हात पारे। जितेन्द्र मुखिया, मोहम्मद जैद आलमले समान २÷२ विकेट लिए। साहब आलम, नोमान खान, पुनित मेहराले १–१ विकेट लिए।
उद्घाटन खेलमा काठमाडौंमाथि ९ विकेटको शानदार जित निकालेको पोखराले लगातार दोस्रो हार भोग्नु परेको छ। मंगलबारको खेलमा पनि चितवन राइनोजसँग ६ विकेटले पोखरा पराजित भएको थियो।
विराटनगरले यससँगै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। यसअघिको खेलमा धनगढीसँग ५ रनले पराजित भएको थियो।
प्रतियोगिता अन्तर्गत बिहीबार बुटवल ब्लास्टर्स र चितवन राइनोजबीच खेल हुनेछ।