
पोखरा-पोखरा महानगरपालिका र राष्ट्रिय योजना आयोगको समपूरक साझेदारी अन्तर्गत ३ आयोजनाको काम अगाडि बढाइने भएको छ।
पोखरा महानगरपालिकाले काम सुरु गरिसकेका ३ आयोजनामा थप काम गर्न आयोगसँग साझेदारी गरेको हो।
साझेदारीमा पोखरा महानगर २० मा मनिपाल र्यालेचौर भलाम सडक खण्डमा १ करोड २० लाख महानगर र त्यत्तिनै रकम योजना आयोगले साझेदारी गर्ने गरी काम अगाडि बढाइने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जानकारी दिए।
बैदाम, पामे घाँटीछिना सडक खण्डमा महानगर र योजना आयोगले १ करोड ६० लाख दरले, विजयपुर-कालिका-माझठाना बेगनास सडकमा दुबै संस्थाको गरी ४ करोड यस आर्थिक वर्षमा लगानी हुनेछ।
यी ३ वटै आयोजनाहरु बहुवर्षीय आयोजना अन्तर्गत ३ वर्षसम्मका लागि गत आर्थिक वर्षदेखि प्रक्रिया अघि बढेको थियो।
राष्ट्रिय योजना आयोगको विशेष अनुदान अन्तर्गत १ करोडको लागतमा सराङकोट खानेपानी आयोजना, ८० लाखको लागतमा पोखरा २८ गहुँकाट्ने र गोतेनबारी जौबारीमा लिफ्टिङ खानेपानी आयोजना, २ करोडको लगानीमा पोखरा ११ काहुँ खानेपानी आयोजना, १ करोडको लगानीमा सडक बालबालिका पुनस्र्थापना केन्द्रको काम समेत अगाडि बढाउन बजेट विनियोजन भएको जिसीले जानकारी दिए।