
पोखरा– नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टि–२० क्रिकेटको शनिबारको एक मात्र खेलमा ज्ञानेन्द्र मल्लकाे कप्तानी रहेको काठमाडौं गोल्डेन वारियर्सले विराटनगर टाइटन्समाथि ३६ रनकाे जित हात पारेको छ।
यसअघि टस जितेर ब्याटिङ गरेको काठमाडौंले ५ विकेटको क्षतिमा १ सय ५९ रनको योगफल खडा गरेको थियो। लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा २ बल बाँकी रहँदै अलआउट भइ १ सय २३ रनमा समेटियो।
इनिङ्सको ओपनिङ नै फितलो प्रदर्शन गरेको विराटनगरले लक्ष्य अनुसारको रन लिन सकेन्। ७ जना ब्याट्सम्यानले दोहोरो अंकको रन छुन नसकी आउट भए। ओपनर ब्याट्सम्यान मोहम्मद जियाद आलम र सुनिल धमलाले १/१ रन बनाएर आउट भए।
त्यस्तै, राजु रिजाल १, राजेश पुलामी मगर २, दिलिप नाथ १, जितेन्द्र मुखिया २, किशोर महतो १ रनमा आउट भए। तेस्रो नम्बरमा ब्याटिङमा उत्रिएका कप्तान प्रदीप सिंह ऐरीले खेलमा केही आशा जगाएपनि २७ बलमा २९ रनमै सीमित भए। उनलाई सुशन भारीले आउट गराए।
विराटनगरलाई उकास्न प्रयास गरेका पुनित मेहराले अर्धशतकीय पारी खेले। उनले ३१ बलमा ५३ व्यक्तिगत स्कोर बनाए । १८.२ ओभरमा उनलाई सुबोध भाटीले बोल्ड गराए। नोमान खान २५ रनमा आउट भए।
बलिङतर्फ काठमाडौंका सुबोध भाटीले सर्वाधिक ३ विकेट झारे। उनले ४ ओभरमा २५ रन खर्चिए। वसन्त रेग्मी र अमरसिंह रौउटेलाले समान २/२ विकेट लिए। अमृत भट्टराई, सुशन भारीले समान १/१ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ राजेको काठमाडौंले ओपनर जयकिसन कोल्सवालाको अर्धशतकीय पारीको सहयोगमा ५ विकेट गुमाउँदै १ सय ५९ रनको योगफल बनाएको थियो।
जयकिसनले ४३ बलमा २ छक्का र ५ चौको सहायतामा ५५ रन बनाएर आउट भए। १४.२ ओभरमा पुनित मेहराले साहब आलमको हातबाट उनलाई क्याचआउट गराए।
कप्तान ज्ञानेन्द्र मल्ल ४५ रन बनाएर आउट भए। उनले ३३ बलमा २ छक्का र ३ चौका हिर्काए। उनलाई पनि पुनित मेहराले नै जितेन्द्र मुखियाको हातबाट क्याचआउट गराए। तेस्रो विकेटका लागि जयकिसन र ज्ञानेन्द्रले ६६ रनको साझेदारी गर्दै स्कोर बढाएका थिए।
अदिल खान र पवन सर्राफले नटआउट क्रमशः १३ र ५ रन बनाए। इनिङको ओपनर ब्याट्सम्यान गौरव तमोर पहिलो ओभरको अन्तिम बलमा रन नै नजोडी किशोर महतोको बलमा आउट भए। अमित श्रेष्ठ १७, सुबोध भाटी १४ रनमा आउट भए।
बलिङतर्फ पुनित मेहराले ३ ओभरमा १५ रन खर्चिएर २ विकेट झारे। किशोर महतोले ३ ओभरमा ३३ रन खर्चिएर १ विकेट लिए। नोमान खानले समान १ विकेट लिए। नोमानले ४ ओभरमा ३८ रन खर्चिए। जितेन्द्र मुखियाले १ विकेट लिए। मोहम्मद जियाद आलमले ४ ओभरमा ३० रन खर्चिदा विकेट झार्न सकेनन्।
विराटनगरमाथिको जितसँगै काठमाडौंले दुई खेलको नतिजा आफ्नो हातमा पार्दै प्लेअफको यात्रा नजिक पुगेको छ। यसअघिको दुई खेलमा भने काठमाडौंले पराजय भोगेको थियो। विराटनगर एक खेलमा जित निकाल्दा र दुई खेलमा हार बेहोरेको छ।
पीपीएल अन्तर्गत आइतबार दुई खेल हुँदैछन्। पहिलो खेल विराटनगर टाइटन्स र चितवन राइनोजबीच हुनेछ भने, दोस्रो खेलमा बुटवल ब्लास्टर्सले धनगढी ब्लुजको सामना गर्नेछ।