
पोखरा– दोस्रो संस्करणको पोखरा प्रमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले फाइनलमा स्थान बनाएको छ।
पोखरा रंगशालमा मंगलबार भएको खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौँ गोल्डेन्सलाई ६० रनले पराजित गर्दै चितवन फाइनल प्रवेश गरेको हो।
काठमाडौँले टस जितेर फिल्डिङ राजेपछि पहिले व्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो।
उसका लागि बाबर हायतले सर्वाधिक ७० रन बनाए। यस्तै रोहन मुस्तफाले ५९ तथा सन्नी पटेल र आरिफ शेखले समान १५ रन बनाए।
बलिङतर्फ काठमाडौंका लागि सुशन भारी, अमर सिंह रौटेला र वसन्त रेग्मीले १–१ विकेट लिए।
१६८ रनको लक्ष्य पछ्याएर जवाफी व्याटिङमा उत्रिएको काठमाडौँले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७ रन मात्रै जोड्न सक्यो।
उसका लागि कप्तान ज्ञानेन्द्र मल्ले ४०, पवन सरार्फले २७ तथा पृथु बास्कोटाले १८ रन जोडेपनि अन्य कुनै पनि व्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।
चितवनलाई जित दिलाउन सन्नी पटेलले तीन, रोहन मुस्तफाले दुई तथा करण केसी, भुवन कार्की, रामनरेश गिरी र कप्तान पारस खड्काले एक–एक विकेट लिए।