
काठमाडौँ–सेतै फुलेको दारी, कपाल पनि । खैरो ज्याकेट र गलामा सुन्तला रंगको गलबन्दी भिरेका ६० वर्षीय सिताराम महतो माइतीघर मण्डलामा छातीमा ‘उखु किसानको भुक्तानी तुरुन्त गर’ प्लेकार्ड टासेर आफ्नो हकका लागि खडा भएका थिए।
विगत ६ वर्षदेखि उखु मिलले नदिएको भुक्तानी पाउनका लागि उनी पहिलो पटक सर्लाहीबाट काठमाडाैँ आइपुगेका हुन् गाउँका अन्य किसानहरुलाई पनि साथमा लिएर । उनले भने ‘कहाँ जाने के गर्ने केही थाहा छैन। छिमेकीहरुसँग आएको तीन दिन भोकै बसे । ’
मिल मालिकले भुक्तानी दिँदैन, जे सुकै गर । एक सुक्को पनि दिन्न भनेपछि स्थानीय स्तरमा किसानहरुको समूहले आल्दोलन पनि गरेको थियो । तर जिल्लामा भएको आन्दोदनले पार नलागेपछि उखु किसानहरुको समूह काठमाडौँ अएको हो ।
उखु बेचेर आएको पैसाले घर घर्च चलाउने र बालबालिकाको पढाई खर्च जुटाउने किसानहरु अहिले भुक्तानी नपाएपछि बिचल्लीमा परेका छन् । ‘मिलले पैसा दिएन अब के खाने, के लाउने, छोरा छोरी कसरी पढाउने?’ भक्कानिँदै सीतारामले भने । सितारामको परिवारमा उनकी श्रीमती, दुई छोरा, बुहारी, नातिनातिना छन् ।
उनी त केवल प्रतिनिधि पात्र मात्र हुन् । सर्लाहीको धेरै उखु किसानको दुःख उस्तै छ । सितारामसँगै विन्देश्वर राय पनि भुक्तानी नपाएका कारण आन्दोलनका लागि राजधानी आइपुगेका छन् । उनलाई नेपाली बोल्न समेत आउँदैन । उनी पनि मिल मालिकबाट पीडित भएपछि राजधानीसम्म आइपुग्न बाध्य भएका हुन् ।
उनले भने ‘हामी किसानलाई ६ वर्षको उखुको भुक्तानी दिएको छैन । मेरो मात्र ६ लाख रुपैयाँ लिनु छ । मालिकसँग पैसा मागेपछि सिडिओलाई भन एसपीलाई भन मन्त्रालयमा जाँउ भन्छ ।’
‘अरुसँग ऋण मागेर खेती गर्यौँ । हाम्रो घरमा विहे छ । कहाँबाट पैसा ल्याउने ।केही उपाय छैन । हामी के गर्ने?’ उनले भने । उखु किसान संघर्ष समितिका सदस्य राजेश यादवले सरकारले उद्योग संचालन गर्न अनुमति दिने तर किसानलाई समस्या पर्दा सुनुवाई नहुने प्रवृत्तिले किसानले दुःख पाएको बताए ।
उनले भने ‘एक विघामा उखु खेती गर्नु पर्यो भने ६० देखि एक लाखसम्म ऋण लाग्छ । र दुई तीन वर्षमा पैसा पायो भने ऋणको ब्याज बुझाउन नसक्ने अवस्था छ । कतिपय अवस्थामा त खेत पनि बेच्नु पर्ने अवस्था आउँछ । ’
सरकारले युवाहरुका लागि स्वरोजगार ऋण ल्याए पनि सर्लाहीका किसानका लागि त्यो लाभदायी हुन नसकेको उनीहरु बताउँछन् । ‘भन्नलाई युवा स्वरोजगार र कृषि प्रधान देश भन्छन् तर हामीले केही पाएका छैनौँ युवाहरुका लागि ल्याएका योजना पनि कागजमा नै सीमित भएका छन्’, यादवले भने ।
उखु किसान संघर्ष समितिका सचिव तथा किसान हरिश्याम रायले सुगर मिलबाट २०७० सालदेखिको भूक्तानी नपाएपछि धर्नामा बस्नु परेको बताए । किसानहरुसँग पटक–पटक भएका सम्झौताहरु कार्यान्वयन नभएको उनले बताए ।
उनले भने ‘किसानहरुको २०७० सालदेखि अहिलेसम्मको करिब ७० करोड बढी भूक्तानी बाँकी रहेपनि अहिलेसम्म कुनै सुनुवाई भएको छैन् । अन्नपूर्ण मिलले ५० करोड र महालक्ष्मी मिलले २१ करोड भूक्तानी गर्न बाँकी रहेको छ ।’
काठमाडौँमा खाने बस्ने ठेगान त छैन । त्यसमाथि पुसको जाडो सहेर १५ दिन देखि किसानहरु माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् । उनले भुक्तानी नदिएसम्म उखु नकाट्ने र मिलहरु कुनै पनि हालतमा चल्न समेत नदिने चेतावनी दिएका छन् ।
मिलहरुबाट सरकारले तोके बमोजिम मूल्य नपाएको किसानहरुको गुनासो छ । सरकारले प्रतिक्विन्टल ५ सय ३६.५६ रुपैयाँ मूल्य निर्धारण गरेको थियो ।