
धनगढी– संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका हत्यारालाई कानुनी दायरामा ल्याएरै छोड्ने बताएका छन्।
मंगलबार कञ्चनपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बास्कोटाले दोषीलाई पत्ता लगाउन सरकारले सुक्ष्म अध्ययन गरिरहेको बताए।
‘कानुनी तरिकाले घटनाको अनुसन्धान गर्न कहिलेकाहीँ लामो प्रक्रिया पनि अपनाउनु पर्ने हुन्छ’, मन्त्री बास्कोटाले भने, ‘तर हत्यारा उम्किएर जान पाउँदैन, सरकारको यसमा गम्भीर ध्यान गएको छ। घटनामा अनुसन्धान गर्न ढिलो चाँडो हुन सक्दछ। तर दोषीलाई कानुनी दायरामा ल्याउन हामी लागि परेका छौँ।’
फरक प्रसंगमा बोल्दै मन्त्री बास्कोटाले सरकार अहिले आर्थिक समृद्धि र सुखी नेपालीको परिकल्पनासहितको नारालाई साकार पार्न लागि परेको बताए।
पर्यटन वर्ष २०२० लाई सफल बनाउन सबै नेपालीले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा मन्त्री बास्काेटा जोड दिए। ‘यो सुखी नेपाली समृद्ध नेपाल अभियानको एउटा अभिन्न अंग हो’, मन्त्री बास्कोटाले भने,‘त्यसैले हरेक नेपाली नागरिकले भ्रमण वर्ष २०२० लाई सफल पार्न आ–आफ्नो तर्फबाट सरकारलाई सघाउनु आवश्यक छ।’
उनले सुदूरपश्चिम प्रदेशमा अझै पनि छाउपडी प्रथाका कारण महिलाले ज्यान गुमाउनु पर्ने अवस्था कायमै रहेको भन्दै त्यस्ता गलत मान्यता त्याग्न आग्रह गरे।
‘हामी अझै पनि अन्धविश्वासमा रुमलिएका छौँ’, मन्त्री बास्कोटाले भने, ‘यस्ता अन्धविश्वासका पछाडी लागेर समाजको विकास हुन सक्दैन।’