हरपल मर्दै छन् रिहान

‘रिहानको मृत्यु यात्रा’: नेपालमा मेडिकल असफलताको लाजलाग्दो कथा

‘रिहानको मृत्यु यात्रा’: नेपालमा मेडिकल असफलताको लाजलाग्दो कथा
+
-

सामान्यतया: १८ महिनाको बच्चा तोतेबोली बोल्दै फाट्फुट हिँड्ने भइसकेको हुन्छ। तर उनी न त घरका कोठा-कोठा भुन्टुङ्–भुन्टुङ् गर्दै हिँड्छन्, न त उनी तोलेबोली बोल्दै आमाको काखमा लुट्पुटिन्छन्।

शायद उनी निको भएका भए उनी पनि उस्तै चुलबुले हुन्थे होला, अरु सामान्य बच्चाहरु जस्तै। भोक लाग्दा आमालाई सताउँदै काखमा बसेर दूध खान्थे। निन्द्रा लाग्दा रोएर आमा-बुवालाई पिरोल्थे। अफसोच, उनीमा यस्ता खालका कुनै पनि बचपना देखिँदैन।

उनको घरको बैठक कोठामा राखिएको टिभीको टेबल माथि छन् रिहान न्यौपानेका साना जुत्ता, जुन उनले लगाउन पाएका छैनन्। शायद अब रिहानले ती जुत्ता कहिल्यै लगाउन पाउने छैनन्।

रिहानका रात दिन उस्तै छ। न उनलाई भोक लाग्छ, न निद्रा, न हाँस्छन्, न रुन्छन्। मात्रै उनी जीवित छन् भन्ने मात्र छ उनको परिवारलाई। उनी निर्जीव वस्तुझैँ मात्र सुतिरहन्छन्। रिहानकी आमा एकता घिमिरे र बुवा सञ्जीव न्यौपानेलाई राम्रोसँग थाहा छ, अब उनीहरुको छोरा मात्र केही दिनको पाहुना हो।

बुवाआमा भइसकेपछि हरेकको चाहना हुन्छ, आफ्नो छोराछोरी आफूसँग खेलोस्। आफूलाई चाहिएको कुरा मागोस्। जन्मेको बच्चासँगै उनीहरुले नयाँ–नयाँ सपनाहरु देख्न थाल्छन्। धेरैका पूरा हुन्छन्।

कतिपयका भने अधुरै। तिनै कतिपयमध्येका एक हुन्, सञ्जीव न्यौपाने र एकता घिमिरे। बच्चा जन्मिँदै छ भन्ने थाहा पाएदेखि उनीहरुले दुईबाट तीन हुँदाका सपनाहरु बुन्न थालेका थिए।

तर, उनीहरुले देखेको सपना अधुरै रहे। उनीहरुका सपना एकएक गर्दै छरपष्ट भएर पोखिरहेका छन्। उनीहरुको खुशी धेरै दिन टिक्न सकेन।

सञ्जीव र एकतालाई छोरा एकपटक बोलिदिए मात्र पनि कस्तो हुँदो हो भन्ने लाग्छ। तर, रिहान विल्कुल शान्त छन्। विल्कुलै ‘सेन्सलेस’। उनलाई कुनै कुराको आभास छैन।

रिहान ‘संसार छोड्ने’ तयारीमा छन्। त्यसैले त उनका बुवा–आमा लाचार भएर छोराको मृत्यु कुरेर बसिरहेका छन्।

को हुन् रिहान?

२०७५ असार १२ गते रिहानको जन्म भयो। उनी सञ्जीव र एकताको पहिलो सन्तान हुन्। रिहानको जन्म भएसँगै न्यौपाने परिवारमा खुशीयाली छायो। घरमा नयाँ सदस्यको आगमन भएको थियो।

झन् सञ्जीव र एकताको खुशीको सीमाना नै रहेन। उनीहरुले सपना देख्न थाले। छोरासँग यस्तो गरौँला, उस्तो गरौँला।

सञ्जीव र एकताले आफ्नो परिवार पूरा भएको अनुभूति गरे। उनीहरु दुईबाट अब तीन भएका थिए।

तर उनीहरुको खुशी धेरै दिन टिक्न सकेन।

उनी जम्मा १८ महिनाका भए। बुवा–आमाको माया महसुस गर्न सकेनन्। उनी बुवा–आमाको साथमा भए पनि आफू साथमै छु भन्ने आभास दिलाउन सकेका छैनन्।

उनीमा कुनै ‘सेन्स’ छैन।

के भएको थियो रिहानलाई?

एकता गर्भवती भएको पहिलो दिनदेखि रिहान जन्मिने दिनसम्म राम्रो काउन्सिलिङ भएको थियो। असार २२ गते डेलिभरी डेट दिइएको थियो। तर डाक्टरले उनलाई थाइराइड र फ्याटी लिभर (कलेजोमा बोसो भएको) भएका कारण शल्यक्रिया गर्नुपर्ने बताए। यसले गर्दा उनलाई दिइएको समयभन्दा अगाडि नै शल्यक्रिया गर्नुपर्ने भयो।

चिकित्सकको सल्लाह अनुसार उनीहरु शल्यक्रियाका लागि तयार भए। बच्चा जन्मियो अर्थात रिहानको आगमन भयो। रिहान जन्मिएको आधा घण्टा पछि स्वास फेर्न गाह्रो भयो। उनलाई एनआइसीयूमा भर्ना गरियो।

फेरि चिकित्सकहरुले ‘बच्चालाई एकदमै गाह्रो भयो, अब भेन्टिलेटरमा राख्नुपर्छ’ भने। चिकित्सकको भनाई स्वीकारे उनीहरुले। रिहानलाई भेन्टिलेटरमा राखियो। पाँच दिनपछि रिहान भेन्टिलेटरबाट डिस्चार्ज भए।

तर, चिकित्सकहरुले बच्चालाई भेन्टिलेटरको इन्फेक्सन सरेको बताए।

अस्पताल बसाइको २१ दिनपछि सबै निको भएको भन्दै अस्पतालले डिस्चार्ज गर्‍यो। तीन दिनपछि फलोअपका लागि बोलायो। उनीहरु अस्पताल पुगे। उनीहरुले भने,‘ ठीक छ।’

तर, अस्पतालबाट डिस्चार्ज भएको चार दिन र जन्मिएको २५ औँ दिन रिहानलाई ज्वरो आयो। २ घण्टा भित्रमै उनीहरुले रिहानलाई अस्पताल पुर्‍याए। सञ्जीवलाई थाहा थियो- बच्चालाई ज्वरो आउँदा स्वास्थ्यमा विभिन्न समस्या उत्पन्न हुन सक्छन्।

२६ औँ दिन एनआइसियूका चिकित्सकहरुले सन्जिवलाई भने, ‘बच्चाको सब ठीक छ, तर हामी २४ घण्टा अब्जर्वेसनमा राख्छौँ र भोलि डिस्चार्ज गरौँला।’

रिहानका पिता सञ्जीव। तस्बिर: रविन आचार्य/देश सञ्चार

दुवै जना चिकित्सकको कुरामा सहमत भए। र घर फर्किए। एकताको मनले मनेन। उनले अस्पतालमा फोन गरेर सोधिन्, ‘बाबुले दूध खाएको छ कि छैन?’

उताबाट उत्तर आयो, ‘खाइरहेको छ। सबै ठीक छ।’

तर, दिउँसो तीन बजे तिर सञ्जीवलाई फोन आयो,‘रिहानलाई सिजर भएको छ। तपाईँहरु आउनुस् बच्चाको ढाडको पानी निकाल्नु पर्छ।’ सञ्जीव र एकता हतार–हतार अस्पताल पुगे। ढाडको पानी निकालेर चेक गर्न अनुमतिका लागि उनीहरुले साइन गरे।

मेनिनजाइटिस भएको छ या छैन भनेर पत्ता लगाउनका लागि यो तरीका अनाउने गरिन्छ।

तर रिहानको ढाडबाट पानी आउनु पर्ने ठाउँमा पिप आयो। यसको मतलव उनलाई मेनिनजाइटिस भएको पक्का भयो र त्यही दिनदेखि नै औषधि दिन थालियो। तर रेडियोलोजिस्टले एक पटक एमआरआई गर्न सल्लाह दिए। उनले रिर्पोट कार्डमा लेखेका छन्,‘बच्चाको टाउकोमा फोहोर जमेको छ, थप मुल्याङ्कनका लागि एमआरआई गर्न आवश्क छ।’

तर चिकित्सकहरुले उक्त कुरालाई टेरेनन्। मेनिनजाइटिस भएको हो, औषधि खुवाएर ठिक पर्ने भने उनीहरुको सल्लाह अनुसार सञ्जीव र एकता पनि राजि भए। र उक्त कुरालाई हलुकैसँग लगे।

४० दिनको बिहानसम्म पनि सन्जिव र एकतालाई अस्पतालले भन्यो,‘बच्चालाई ठीक छ, ७ दिनको औषधि खुवाएर घर पठाउछौँ।’

एकताले साँझ रिहानलाई भेटन जाँदा थाहा पाइन्, रिहानको टाउकोमा एकदमै धेरै पिप जमेको छ। शल्याक्रिया गरेर निकल्नु पर्छ। टाउकोमा पिप भए नभएको पत्ता लगाउन एमआरआई गरियो।

एमआरआई पछि ‘कन्फर्म’ भयो रिहानको टाउकोमा पिप जमेको छ।

अब शल्यक्रिया बाहेक कुनै बिकल्प थिइन।

भोलिपल्ट बिहान न्यूरोको टोली आयो। र रिहानको केस सिभियर भएको बताए। उनीहरुले भने,‘पिप एकदमै चाडो निकाल्नु पर्छ, नत्र यसले जीन्दगी बर्बाद बनाउन सक्छ।’

चिकित्सकले यस्तो भनिरहँदा कुन चाहिँ बुवा–आमाले नाई भन्ला र? सञ्जीवले स्वीकृति जनाए। पहिला एकता आत्तिइन्। ४० दिनको बच्चाको टाउको चिर्ने? तर उनले हिम्मत बनाइन्। छोरा निको हुन्छ भने ठीक छ।

रिहानको शल्यक्रिया भयो। सात दिनपछि फेरि सिटीस्क्यान गरे। चिकित्सकले अझै रिहानको टाउकोमा पिप भएको बताउँदै भने,‘फेरि शल्यक्रिया गर्नु पर्छ।’

फेरि पनि डा. अमित थापाको नेतृत्वमा दोस्रो शल्यक्रिया भयो। शल्यक्रिया पछि उनीहरु फलो अपमा अस्पताल पुगे। अझै रिहानको टाउकोमा पिप बाँकी थियो।

तेस्रो शल्यक्रिया भयो।

तेस्रो शल्यक्रिया भएको दुई हप्ता पछाडि फेरि थाहा भयो, पिप अझै बाँकी थियो। पिप निकाल्नका लागि रिहानको टाउको बाहिर ड्रेन (पाइप) राखिएको थियो। उक्त ड्रेन रिहानले हल्लाइदिए र पिप आउन बन्द भयो। चिकित्सकले पिप निकाल्नै पर्ने बताए।

सञ्जीवले भने,‘छोरालाई यस्तो भएपछि मैले एकदमै धेरै मेडिकल जर्नलहरू पढेँ। जसले गर्दा छोरालाई के भएको हो र उसलाई के गर्नु पर्छ भन्ने बारे सबै कुरा थाहा पाइसकेको थिए।’

७५ दिनको बच्चाको टाउको चौथो पटक चिरियो अर्थात रिहानको चौथो शल्यक्रिया भयो।

शल्यक्रियापछि डिस्चार्ज गरियो। खुशी हुँदै उनीहरु छोरो बोकेर घर फर्किए। तर चिकित्सकले उनीहरुलाई भनेका थिए,‘हरेक महिना फलोअपमा आउनुहोला।’

चौथो, पाँचौँ, छैठौँ महिना फलोअपमा गए। डाक्टरले भने,‘सबै ठीक छ।’

तर सातौँ महिना अल्ट्रासाउन्ड गर्दा रेडियोलोजिष्टले टाउकोमा ७.२ सेन्टिमिटरको हाइड्रोसेफालस (पानी जमेको ठाँउ) भएको रिपोर्ट सञ्जीवको हातमा थमाइदिए।

सञ्जीवले न्यूरो सर्जन डा. अमित थापालाई रिपोर्ट देखाए। रिपोर्ट हेरेर डा. थापाले हाइड्रोसेफालस नभएको बताए।

फेरि आठौँ महिनाको फलोअपमा गए। अल्ट्रासाउन्ड गर्दा रिहानको टाउकोमा ८.८ सेन्टिमिटरको हाइड्रोसेफालस भएको रिपोर्टमा उल्लेख गरिएको थियो।

तर डा. थापाले भने,‘८.८ सेन्टिमिटर होइन। यो ८.८ मिलिमिटर हुनुपर्छ। मिस्टेक भएर सेन्टिमिटर लेखिएको हुन सक्छ।’

डा. थापाको कन्फिडेटले सन्जिवलाई बलियो बनायो। उनी घर फर्किए।

उनीहरु फेरि नौ महिनामा फलोअप गए। अल्ट्रासाउन्ड गरे। ९.८ सेन्टिमिटर हाइड्रोसेफालस बच्चाको टाउकोमा भएको रिपोर्ट आयो।
उनीहरु आत्तिए।

डा. थापाले,‘एमआरआई गर्न सल्लाह दिए।’

एमआरआई भयो, रिपोर्ट तुरून्तै आयो। डा. थापाले एमआरआइको रिपोर्ट हेरे र भने, ‘ल बच्चाको टाउकोमा पानी जमेको रहेछ। तुरुन्त शल्यक्रिया गर्नु पर्छ।’

यति हुँदासम्म पनि सञ्जीव र एकता उनीहरुले मनोवल कमजोर बनाएनन्। हिम्मत राखे।

पाँचौँ अप्रेसन भयो।

डाक्टरले बच्चालाई १२ घण्टा पोस्ट ओटीमा राख्नु पर्ने बताए। रिहानलाई क्याबिनमा सारियो।

नर्स रिहानलाई औषधि दिन थालिन्। एकताले नर्सलाई सोधिहालिन्,‘कुन औषधि हो?’

नर्सले उत्तर दिइन्,‘सिटमोल।’

एकताले फेरि सोधिन,‘कति एमएल?’

‘६६ एमएल’ भन्दै नर्सले उत्तर दिइन्।

एकताले थपिन,‘यति सानो बच्चलाई यति धेरै? हामीले घरमा त तीन/चार एमएल मात्र दिने गरेका थियौँ।’

बिरामीका विवरण भएको फाइलमा यही छ भन्दै नर्सले फाइल देखाइन्।

तर एकता चुप रहिनन्। उनले झगडा गरिन्। र डाक्टरलाई सोध्न पठाइन्।

नर्स फर्केर आइन। ए! चार एमएल पो रै’छ भन्दै चार एमएल दिएर गइन्।

अस्पताललाई थाहा भयो। रिहानलाई ओभर डोज भयो। उनीहरु बिच खैलाबैला हुन थाल्यो।

सञ्जीव र एकता गएर पनि भन्न सकेनन्– ‘तपाईँहरुले मेरो बच्चालाई ओभर डोज दिनु भयो।’ अस्पतालले पनि भन्न सकेन,‘हामीले ओभर डोज दियौँ।’

त्यतिकैमा नर्स आइन्। र कलेजो परिक्षण गर्नु पर्ने बताइन्।

बच्चालाई प्यारासिटामोल ओभर डोज भएको खण्डमा कलेजोले काम गर्न छोड्ने हुन्छ। रिहानको रिर्पोटमा त्यस्तो केही पनि देखिएन।

तर भोलिपल्ट न्यूरो टिमका एक जनाले भने,‘ओभर डोज भएको हो। यसको जिम्मा म लिन्छु। तपाईँ जे कारवाही गर्नु हुन्छ कारवाही गर्नु।’

सञ्जीव र एकतालाई कारवाही भन्दा पनि छोरा चाडो निको हास् भन्ने चाहाना थियो। तीन दिन पछि फेरि रिहानलाई ज्वरो आयो। पहिल्यै ओभर डोज भएका कारण औषधि खुवाउन मिलेन। चिकित्सकले पानी पट्टि लगाएर बस्न सल्लाह दिए।

सञ्जीवलाई असह्य भयो।

अस्पतालमा उनको भनाभन भयो। निर्देशक डा. चक्रराज पाण्डेले उनलाई भने,‘यो बच्चा मेरो नाति जस्तो हो। यसलाई म टप डाक्टर बोलाएर भए पनि निको बनाउँछु।’

तर उनीहरूसँग बच्चालाई दिने औषधि थिएन।

ज्वरो निको भएन।

केही दिनपछि बच्चाको ज्वरो निको भयो घर लैजानुस् भनेर फोन आयो।

उनीहरू अस्पताल गए।

डाक्टर पाण्डे लगायत अन्य डाक्टरहरुसँग बैठक भयो। सञ्जीवले अस्पतालले गरेका गल्ती बताए।

‘हामी केही गर्न सक्दैनौँ। तपाईँलाई चित्त बुझेको छैन भने नेपाल मेडिकल काउन्सिल जानुस्।’ भन्दै बैठकबाट सञ्जीवलाई पन्छ्याउन खोजियो।

सञ्जीवलाई अस्पताल र चिकित्सक प्रति शंका उत्पन्न भयो। उनले छोराको सबै रिर्पोट अन्य चिकित्सकलाई देखाए। सञ्जीव छाङ्गाबाट खसेझैँ भए।

उनले थाहा पाए की रिहानको बायाँ पट्टि दिमाग नै छैन।

दिमाग छैन भने किन पटक–पटक रिहानको कलिलो टाउको चिरियो। उनको मनमा प्रश्न उब्जिए । तर कतैबाट उनी उत्तर पाउन सकेनन्। अस्पतालले गल्ती स्वीकार्नुको साटो उल्टै काउन्सिल जान सल्लाह दियो।

उनका सपना बिलिन हुँदै गए। मनमा पलाएका आशा एक–एक गर्दै बिलिन हुँदै गए।

चिकित्सक प्रतिको विश्वास डग्मगायो।

छोरा बोकेर सञ्जीव र एकता ९ महिनापछि अस्पतालबाट घर फर्किए।

उनले भने,‘मैले मेरो बाबुलाई इन्फेक्सन भयो भनेर कहिल्यै पनि इस्यू बनाएको छैन, त्यो मेरो बाबुको ब्याडलक थियो। तर समस्या कहाँ हो भने अस्पतालले आफ्नो गल्ती स्वीकार गर्न किन सकेको छैन भन्ने मात्रै हो।’

अन्ततः उनीहरुले नेपाल मेडिकल काउन्सिलमा ग्रान्डी अस्पताल, प्रशासन र डाक्टरविरूद्ध उजुरी गरे।

काउन्सिलले यसको अध्ययनका लागि छानबिन समिति गठन गर्यो।

गत असोज १२ गते विज्ञहरूको समितिले प्रतिवेदन दियो। प्रतिवेदनमा बच्चाको उपचारका क्रममा अस्पतालले गम्भीर त्रुटी गरेको उल्लेख गरिएको छ।

प्रतिवेदनमा अस्पतालबाट मुख्य गल्ती भएको उल्लेख गर्दै काउन्सिलको कारवाहीको निर्णय सुनायोः

– अस्पताल प्रशासन र उपचार गर्ने चिकित्सकबीच विरामी नवजात शिशुलाई आइसियुमा भर्ना गर्ने विषयमा फरक मत देखिएको, बिरामीको उपचारका क्रममा चिकित्सकको राय विपरीत अस्पताल प्रशासनले आइसियुमा राख्न लिखित निर्देशन नै दिएको देखिएको, उपचारकै क्रममा बिरामी शिशुलाई पारासिटामोल ओभर डोज दिएको र सो को स्वीकारसमेत गरिएको सन्दर्भमा अस्पतालका निर्देशकलाई सचेत गराउने

– न्युरो सर्जन डा. अमित थापालाई चिकित्सा विज्ञानको आधारभूत सिद्धान्त पालना नगरेको, सहानुभूति र करुणाको कमी भएको तथा रोगको निदानबारे स्पष्ट सल्लाह नदिएको हुँदा अब उप्रान्त त्यस्तो विषयमा गम्भीर बन्न डा. अमित थापालाई सचेत गराउने

– आवश्यकताभन्दा बढी डोज पारासिटामोल सिफारिस गर्ने डा. दीपिका ढकाललाई एक हप्ता सिनियर डाक्टरको मातहतमा राखेर काम गराउने

– परीक्षणको क्रममा सिटीरएमआरआई समय भित्रै गरिएको देखिएन, यस सम्बन्धमा बाल रोग विभागको स्पष्टीकरणमा बच्चाको स्वास्थ्यस्थितिको जोखिम र लाभ मुल्याङ्कन पश्चात केही समय ढिलाई गरिएको भनिएतापनि यस्तो प्रकारको जटिल स्वास्थ्योपचारमा अस्पतालभित्रै उपलब्ध सेवा सुविधा समयभित्रै उपयोग गर्न सुझाब दिने  र इमेजिङ् गर्नलाई ढिला गर्ने वा गराउनुपर्ने कुनै कारण भएमा अभिलेख रहनेगरी नोट गरिराख्नु पर्ने विषयमा समेत सुझाव सहित ग्रान्डी अस्पतालका सम्बन्धित विभाग र व्यवस्थापनलाई सचेत गराउने

– अस्पतालभित्र स्वास्थ्योपचारको क्रममा हुने यस प्रकारका त्रुटि, कमजोरीहरु न्यूनीकरण गर्न अस्पताल गम्भीर र जवाफदेही हुनुपर्ने तथा आफ्नो स्वास्थ्यकर्मीहरुलाई पूनर्ताजती तालिको व्यवस्था गर्न गराउन अस्पताललाई निर्देशन दिने

काउन्सिल प्रति सञ्जीवको आशा…

काउन्सिलले आफ्नो छोराको उपचारको क्रममा भएको चिकित्सकको लापरवाही र अस्पताललाई कडा कारवाही गर्ला भन्ने विश्वास उनले लिएका थिए। तर कोउन्सिलले उनले सोचे जस्तो केही पनि गरेन।

तर काउन्सिलको यस्तो फितलो निर्णयले उनलाई निराश बनाएको छ।

उनले थपे,‘उहाँहरुले हामीले लिखित दिन मिल्दैन, अदालतमा जानुस् तपाईँहरुलाई सजिलो हुन्छ भन्नुभयो।’

कस्तो छ अहिले रिहानको अवस्था…

उनी बिरामी छन्। केही कुरा महसुस गर्न सक्दैनन्। पटक–पकट बान्ता गर्छन्। ज्वरो आउँछ। कहिले रगत नै बान्ता गर्छन्। उनलाई कुनै पनि अस्पतालले भर्ना गर्न मान्दैन्। उनी दिनप्रतिदिन मृत्युसँग लडिरहेका छन्।

टाउको बढिरहेको छ भने उनको शरीर सुकिरहेको छ।

खाना खान सक्दैनन्।

के भन्छन्, अस्पतालका निर्देशक डा. चक्रराज पाण्डे?

‘यो केसको बारेमा नेपाल मेडिकल काउन्सिलले विज्ञहरुसँग सबै कुरा गरेर मात्र उसले आफ्नो ओपिनियन दिइसकेको छ।’

हामी बोलिरहन जरुरी छैन।

खासमा प्यारासिटामोलको ओभर डोजको इस्यू के हो भने विरामीको कन्डिसन ओभर डोजका कारण बिग्रेको होइन। विश्वभरको तथ्याङ्क अनुसार यहाँ प्यारासिटामोलको ओभर डोज ५.५ प्रतिशत छ। विश्वको त्रुटी बारेमा धेरैलाई ज्ञान छैन।

त्यसैले एउटा मात्र नभएर विश्वभर हेर्नु पर्छ।

तर रिहानको ‘करेन्ट प्रोब्लम’ सिटामोलको ओभर डोजबाट भएको होइन। त्यो भनेको उसको मेनिनइनजाटिस अनि डिफ्रेन्ट कम्पिलीकेसनहरुको सिक्वलली भएको हो।

हामीले के भन्यौ वा के गर्यौँ भन्ने कुरा छैन। खाली एउटा महत्वपूर्ण कुरा मिडिया जगतमा के हो भने कानुन छ, काउन्सिल छ, स्वास्थ्य मन्त्रालय छ, अदालत छ यि प्रोसेसबाट जानु पर्यो। यदी डाक्टरहरुको वा अस्पतालको हेलचेक्रयाइ, मनोमानि भयो भने देशको सिस्टम छ त्यसैबाट चल्नु पर्छ।

पार्टीहरुको एल्लो जर्नालिजम जस्तो मान्छेहरुलाई भर्टिक् आउनु भन्दा अगाडि नै जज पनि आफै बन्ने अनि दोष पनि आफै लगाउने कुरा गतल हो। त्यो बारेमा हामीले हाम्रो कुरा इभिडेन्स सहित प्रमाण काउन्सिललाई पेश गरिसकेका छौ। काउन्सिलले मल्टिपल टाइम्स हामीहरु सँग प्रश्न गर्यो।

हामीले उत्तर दियौँ।

हामीलाई काउन्सिलले के भन्यो भने हामीले तपाईँहरुको सबै कुरा हेर्यौ छलफल आयोगका विज्ञले के भन्नु भयो भने‘ओभर डोज दिने डाक्टरलाई एक हप्ता आफू भन्दा सिनियरको अन्डरमा काम गर्नु पर्छ।’

तर अर्को काउन्सिलले भनेको कुरामा भने मेरो सहमति छैन, जुन प्यासासिटामोलको ओभर डोजको भइसकेपछि त्यो बेलामा बच्चालाई हानी नहोस् भनेर ‘म एज अ डिरेक्टर’ अमेरीकाबाट मिटिङ् सक्काएर आउँदा एर्पोटबाट सिधै अस्पताल पुगेर भेटेको थिए।

र मैले आइसियू मै राखेर बच्चालाई केयर गरे। यो बच्चालाई प्यारासिटामोलको डोजबाट हुने साइड इफेक्ट वा केही भयो भने अस्पतालले जिम्मा लिन्छ वा निर्देशकको हैसियतले यो जिम्मेवारी मेरो हुन्छ भनेर जिम्मा लिए।

अस्पतालले प्यारासिटामोलको डोजबाट असर नगरोस् भनेर उपचारको क्रम अगाडि बढायौ।

तर बच्चालाई लिएर आइसियूमा राख्यो भनेर उनीहरुले के भने,‘ल पैसा बढी पाउनको लागि फेरी आएसियूमा राख्यो भनेर त्यसै प्रचार गरे।’

प्यारासिटामोलको ओभर डोज भएपछि सन्जिव भाइले डिपोजिट गरेर राखेको ५० हजार रुपैयाँ हामीले फिर्ता गरेको आफूलाई खुशी पार्न पैसा फिर्ता गरेको भनेर भन्नु भयो।

कुनै पनि व्यक्तिलाई मेनिनइनजाटिस हुँदा उसलाई जोगाउनका लागि पाँच पटक मात्र होइन १५ पटक पनि शल्यक्रिया गर्नु पर्ने हुन सक्छ।

मैले रिहानलाई एक पटक त्यही ओभर डोज भएको दिन मात्र देखेको छु। प्रष्ट भन्ने हो भने मसँग कुनै सरोकार थिएन। तर निर्देशकको हैसियतले म जिम्मेवार छु। र हुनु पनि पर्छ।

‘पेपरहरु सबै काउिन्सलमा छन्।’

यो कुरामा सञ्चार माध्यमले सबै भन्दा पहिला बुझ्न आवश्यक छ। काउन्सिलको डिसिजलाई मान्नु पर्छ।

‘यसको चित्त नबुझे अदालतमा जानुपर्छ।’

काउन्सिलले किन यस्तो खालको जजमेन्ट गर्यो र हामीलाई पनिस्मेन्ट दिएन भनेर बुझन जरुरी छ। हामीले अस्पतालको सबै कागजात र सबै प्रमाण नेपाल मेडिकल काउन्सिललाई बुझाइसकेका छौँ।

मैले कसैलाई केही जवाफ दिनु पर्दैन।

‘इट्स अल अवाउट इभिडेन्स्।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?