
कास्की- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीले आवश्यकता देखेर आफूलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको बताएका छन्।
उम्मेदवारी दर्ता गर्न जिल्ला निर्वाचन कार्यालय कास्की पुगेका श्रेष्ठले सो कुरा बताएका हुन। आफूले कहिलै पनि संसदको सदस्य नहुने वा राष्ट्रियसभामा नजाने भनेर नभएको बताउँदै श्रेष्ठले पार्टीले दिएको जिम्मेवारी विना शर्त पुरा गर्ने बताए।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालयबाट दुईजना (बामदेव गौतम र नारायणकाजी श्रेष्ठ) राष्ट्रियसभामा जानुपर्छ भन्ने प्रस्ताव गरेपछि मात्रै आफुले थाहा पाएको उनले बताए।
श्रेष्ठलाई नेकपाले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी प्रदेशबाट उम्मेदवार बनाएको थियो।
२०७४ सालको निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लडेका श्रेष्ठ डाक्टर बाबुराम भट्टराईसँग पराजित भएका थिए।नेकपाकै उम्मेदवार भगवती न्यौपानेलेपनि उम्मेदवारी दर्ता गराएका छन्।