
काठमाडौं- जेनेथ चौहान जसरी पनि ‘ब्याचलर अफ इन्जिनियरिङ इन इन्फर्मेसन टेक्नोलोजी’ अध्ययन गर्न चाहन्थिन्।
यही सपना पछ्याउँदै उनी एक वर्षअघि पर्साको जगरनाथपुर गाउँपालिका-४ मा रहेका बाबुआमा र एक जना भाइलाई छाडेर काठमाडौं आइन्। बुद्धनगरको मालिका गर्ल्स होस्टलमा बसेर तयारी सुरु गरिन्।
मिहेनत गज्जबकै थियो। प्रतिफल: नाम निस्कियो। उनले ललितपुरमा रहेको कसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीमा भर्ना गरिन्। पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका पूर्व डीनले चलाएको यो कलेजमा पढ्ने रहर उनको पुरानै थियो। कलेज नजिकै बस्न दुई साता अघि ललितपुरको सातदोबाटोमा रहेको सुरिना गर्ल्स होस्टलमा सरिन्।
सबै कुरा ठिकठाक चल्दै थियो। इच्छाएकै विषय पढ्दै थिइन्। कलेज नजिकै होस्टल पाइएको थियो। यी १९ वर्षीया किशोरीको सपना पूरा हुने यात्रा बल्ल सुरु हुँदै थियो।
गत शनिबार होस्टलका साथीहरु झैँ उनी पनि सरसफाइमा लागिन्। भुईँतलामा रहेको बाथरुममा नुहाउन पालो कुर्नुपर्थ्यो। सबैले पालैपालो नुहाउनुपर्ने। गिजरबाट तातो पानी आउने भएकाले नुहाउन सकस थिएन। बिहान १० बजे उनी बाथरुम छिरिन्। साथीहरु होस्टलभित्रै आ-आफ्नो काममा ब्यस्त थिए।
को कहाँ के गरिरहेको छ भन्ने वास्ता कसैलाई थिएन, मात्र बाथरुम छिरेकी जेनेथबारे बाहेक। एक घण्टा बित्दासमेत जेनेथ बाहिर निस्कने चालचुल देखिएन, न त बाहिर पानीको आवाज नै सुनियो। अति नै भएपछि साथीहरुले बाथरुमको ढोका ढकढक गरे।
कुनै प्रतिक्रिया आएन। कोही मान्छे बोलेन। तर बाथरुममा भित्रबाट चुकुल लगाएका कारण मान्छे छ भन्ने शंका स्वभाविक थियो। मान्छे नबोलेएपछि सबै डराउन थाले। होस्टलमा हल्लाखल्ला भयो। वार्डेन आइपुगे।
ढोका खुल्ने अवस्था नदेखेपछि उनले पछाडिपटि रहेको ग्रिल फोरेर भित्र छिरे जहाँ जेनेथ बेहोस अवस्थामा लडिरहेकी थिइन्। तत्कालै उनलाई नजिकैको लालिगुराँस हस्पिटल पुर्याइयो। हस्पिटलले रिफर गरेपछि उनलाई पाटन अस्पताल पुर्याइयो। इमर्जेन्सी वार्डमा भर्ना गरिएपनि दिउँसो १ बजे चिकित्सकले मृत घोषणा गरे।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा बाथरुममा तातो पानी निकाल्न जोडिएको गिजरका कारण जेनेथको ज्यान गएको आशंका गरिएको छ। परिवारकी एकमात्र छोरीको असामयिक निधनपछि अहिले जेनेथको परिवार शोकमा डुबेको छ।